WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

योजना, तयारी र सही तथा लचकदार प्रश्नका मामलामा दुवै खालका अन्तर्वार्ताबीचमा केही पनि अन्तर हुँदैन । तर खोजमूलक स्टोरी गर्दा अलि फरक सीप अपनाउनुपर्छ र आफ्नो तरिका अलि फरक हुनुपर्छ । समयको मामलामा यी दुई खालका अन्तर्वार्तामा अन्तर छ । अन्तर्वार्ता कोसँग लिने भन्ने बारेमा मात्र होइन कसलाई कुन वेला (स्टोरी थाल्दै, अथवा केही जानकारी लिइसकेपछि अथवा सबैभन्दा अन्त्यमा) लिंदा उत्तम हुन्छ सो बारेमा पनि सोच्नुहोस् । खोजमूलक रिपोर्टको सन्दर्भ फरक हुनाले, यसका विषय ठूला र बढी संवेदनशील हुनाले स्रोतले तपाईंलाई असहयोग गर्न सक्छ, ऊ प्रतिरक्षात्मक हुनसक्छ, ऊ नबोल्न सक्छ अथवा उसले तपाईंलाई छल्न सक्छ । त्यसैले, खोजमूलक स्टोरीका लागि अन्तर्वार्ता लिंदा फरक रणनीति अपनाउनुपर्छ । प्रश्न सोध्ने फरक विधिले आफूलाई भिन्न लक्ष्यमा पुग्न सहयोग गर्छ ।

अन्तर्वार्ता लिनका लागि उपयुक्त समय
स्टोरीमा सबैभन्दा मुख्य मानिसको सामना कति वेला गर्ने ? शुरूमै लियो भने उसलाई आफ्नो स्टोरी छापिनुअघि नै उम्कने (वा स्टोरी रोक्ने उपाय खोज्ने) अवसर मिल्न सक्छ । अन्त्यमा लिन खोज्यो भने पनि ऊ भागिसकेको हुनसक्छ अथवा उसले सतही जवाफ तयार गर्न सक्छ अथवा कानूनी रूपले तपाईंको प्रश्न छल्न सक्छ । त्यसैले, पर्याप्त प्रमाण (कागजपत्र) भइसकेपछि उसँग कति वेला अन्तर्वार्ता लिन उपयुक्त हुन्छ भनी विचार गर्नुपर्छ ।

जोखिम
स्टोरी पूर्ण रूपमा तयार नहुँदै पनि सतर्क रहनुपर्छ । स्टोरी गर्दै जाँदा स्टोरीसँग सम्बन्धित शक्तिशाली व्यक्ति अथवा संस्थालाई कुराकानीका लागि तपाईंले अनुरोध गर्दा उनीहरू आफ्ना गतिविधिका बारेमा सतर्क हुनसक्छन् । उनीहरूले तपाईंलाई समस्या सिर्जना गर्ने मान्छे ठान्न सक्छन् । त्यसैले उनीहरूले जे गर्न पनि सक्छन् । कुराकानी गर्न अस्वीकार गर्नु उनीहरूका लागि सबैभन्दा सजिलो तरिका हो । तर जानकारी खोतल्न छाड्नुहुँदैन । उनीहरूले शारीरिक कारबाही गर्ने अथवा कानूनी कारबाही गर्ने धम्की दिनसक्छन् । तेस्रो व्यक्ति (प्रायःजसो सम्पादक वा प्रकाशक) मार्फत हल्का ढंगले धम्क्याउन सक्छन् । स्टोरी छापिनुभन्दा पहिल्यै मुद्दा हाल्ने धम्की पनि दिनसक्छन् । उनीहरूले ‘मानहानि’ को तरबार देखाउन सक्छन् ।

विवेक
खोजमूलक स्टोरीले अहिलेसम्म थाहा नभएका कुरा खोतल्ने लक्ष्य लिएको हुन्छ । कसैले झूटा कुरा बोलेर वा चूप लागेर तथ्य लुकाएको हुनसक्छ । उदाहरणका लागि, मन्त्रीले संसद्मा झूटा कुरा बोलेको हुनसक्छ । अथवा समाजले गरीब युवतीको तस्करीका बारेमा केही पनि नबोलेको हुनसक्छ । यस्ता तथ्य बाहिर ल्याउँदा त्यसले हलचल मच्चाउन सक्छ । यसको अर्थ हो अन्तर्वार्ता मिलाउने काम एकदमै बढी संवेदनशील हुन्छ । अन्तर्वार्तामा के कस्ता कुरा सोधिन्छन् भनेर पहिल्यै जानकारी दियो भने स्रोतले कुराकानी गर्न अस्वीकार गर्न सक्छ । सार्वजनिक ठाउँमा अन्तर्वार्ता लिंदा स्रोतलाई खतरा हुनसक्छ ।

स्रोतलाई पासोमा पार्न खोज्दा राम्रोसँग विचार पु¥याउनुपर्छ । पासोमा पार्नु भन्नाले यी काम हुनसक्छन्ः एउटा विषयमा कुराकानी गर्छु भनेर अर्काे विषयमा कुराकानी गर्नु, अधिकृतका ढोकाबाहिर उसलाई ढुकेर, ऊ आउँदा जाँदा अन्तर्वार्ता लिन्छु भनेर बस्नु । कुनै टेलिभिजन कार्यक्रमले यसो गर्नु सही जस्तो लाग्न सक्ला तर तपाईंले यसो गर्नु एकदमै गलत ठानिन सक्छ । चतुर नेतालाई उसले आशै नगरेका प्रश्न तपाईंले सोध्नुभयो भने त्यसलाई छल्ने तरिका उसलाई थाहा हुन्छ, अथवा उसले तपाईंलाई हुल्याहा जस्तो देखाउन सक्ला । यस्तो अवस्थामा तपाईंको यस्तो प्रयास र तयारी त्यसै खेर जान्छ ।

अन्तर्वार्ताको रणनीति
अन्तर्वार्ताका लागि अपनाउन सकिने रणनीति तीन खालका छन् । अनौपचारिक अथवा पृष्ठभूमि बुझ्न गरिने वा तथ्य जान्नका लागि गरिने अन्तर्वार्तामा पूरै अन्तर्वार्ता भर एकै किसिमका प्रश्न सोधिन्छन् । ती उति धेरै अप्ठ्यारा हुँदैनन् । कुराकानी अघि बढ्दै जाँदा प्रश्न पनि कठोर बन्दै जाने हुँदैन । व्यक्ति चित्र तयार गर्नका लागि गरिने प्रश्न शुरूमै व्यक्तिमा केन्द्रित हुन्छन् । जस्तै, कुन स्कूल पढ्नुभयो ? कोसँग बिहे गर्नुभयो ? किन ? कविता लेख्न कसरी शुरू गर्नुभयो ? कहिलेकाहीं बन्द प्रश्न पनि सोधिन्छन् । त्यस्ता प्रश्न सोध्दा व्यक्तिको जीवनसँग सम्बन्धित महत्वपूर्ण जानकारी पाइन्छ । जसको व्यक्ति चित्र लेख्ने हो उसका विचार बारेमा पनि पाठक जान्न चाहन्छन् । त्यसैले कुराकानी बढ्दै जाँदा विषय बृहत्तर हुँदै जान्छ । जस्तै, आधुनिक उपन्यास कुन अवस्थामा छ जस्तो लाग्छ ? साहित्यिक पुरस्कारका बारेमा तपाईंको के विचार छ ? फलानो पुरस्कारका लागि यसपालि गरिएको मनोनयन तपाईंलाई कस्तो लाग्यो ? यस रणनीति अनुसार अन्तर्वार्ता सानो विषयबाट थालिन्छ र विस्तारै त्यसको क्षेत्र फैलँदै जान्छ ।

खोजमूलक स्टोरीका लागि अन्तर्वार्ता गर्दा यसको ठीक उल्टो रणनीति लिनुपर्छ । यति वेला बृहत् र सामान्य विषयबाट कुराकानी शुरू गर्नुपर्छ (उदाहरणका लागि, सरकारी ठेक्का दिंदा कस्ता प्रक्रिया अपनाइन्छन् ? यो प्रक्रिया सन्तोषजनक छ ? सरकारले अनुगमन कसरी गर्छ ?) थप कुराकानी गर्दै जाँदा खास विषयमा जोड दिने प्रश्न सोध्नुपर्छ । सबैभन्दा कडा प्रश्न सबैभन्दा अन्त्यमा सोध्नुपर्छ । खोज पत्रकारले सोध्ने यस्ता प्रश्न हो वा होइनमा जवाफ दिनुपर्ने खालका हुन्छन् । अथवा यस्तो जवाफ दे भनी निर्देशित गर्ने खालका हुन्छन् । जस्तैः ‘फलानो ठेक्कामा तपाईंले बोलपत्र गर्दा अपनाउनुपर्ने प्रक्रिया उल्लंघन गर्नुभयो ? किन ?’ यस्ता प्रश्न सोधेपछि स्रोत थप कुराकानी गर्न तयार नहुन सक्ने हुनाले यस्ता प्रश्न अन्त्यमा गर्नु परेको हो । खोजमूलक स्टोरीका लागि गरिने अन्तर्वार्ता बृहत्तर विषयबाट शुरू हुन्छ, अन्तर्वार्ता गर्दै जाँदा विषय साँघुरिन्छ र अन्त्यमा सबैभन्दा धेरै साँघुरिएको हुन्छ ।