WHAT'S NEW?
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

स्टोरीको आइडियाका बारेमा राम्ररी सोचविचार गरिसकेपछि आफ्ना प्रारम्भिक विचारलाई मान्यतामा बदल्नुपर्छ अथवा प्रश्न तयार गर्नुपर्छ जसको उत्तर स्टोरीले दिन्छ । मान्यता अथवा प्रश्न– छोटा होउन् वा लामा, एक वाक्यका होउन् वा दुई वाक्यका– ले तपाईंका लागि कस्ता प्रमाण काम लाग्छन् अथवा केलाई प्रमाण मान्न सकिन्छ भन्ने निर्णय गर्न सजिलो हुन्छ । यस बाहेकः

  • !  स्टोरीको सिमाना र लक्ष्य निर्धारण हुन्छ जसले गर्दा खोजको कामलाई व्यवस्थित बनाउन सकिन्छ ।
  • !  यसो गर्दा आफ्नो समूहका सबैलाई बताउन र सम्पादकलाई स्टोरी गरौं भनी मनाउन सजिलो हुन्छ ।
  • !  समय र स्रोतसाधनको बजेट मिलाउन सकिन्छ ।
  • !  कस्ता प्रमाण जुटाउनुपर्छ र कस्ता पर्दैन भनी निर्धारण गर्न सकिन्छ ।
  • !  यसो गर्दा ताल–सुर मिलेको स्टोरी बन्ने आधार तयार हुन्छ ।

हरेक स्टोरी आइडियाबाट एउटा भन्दा धेरै मान्यता अथवा दिशा तय गर्न सकिन्छ । उदाहरणका लागि; गरीबी, निजीकरण र पानीजन्य रोगसम्बन्धी स्टोरीका दुईवटा मान्यता हुनसक्छन्ः

(क) निजीकरण गरेपछि खानेपानी गरीबले किन्न नसक्ने गरी महँगो भएकाले मानिसहरूले अस्वस्थकर खानेपानी खाए जसले गर्दा महामारी फैलियो ।

(ख) निजी खानेपानी कम्पनीले खानेपानी सफा नराखेकाले महामारी फैलियो ।

यी मान्यतालाई पत्रकारले समीक्षात्मक ढंगले मूल्यांकन गर्नुपर्छः के भएको होला भन्ने अनुमानमा आफ्ना मान्यता आधारित छन् र ती अनुमान कत्तिको सही छन् ? यी दुईवटै मान्यता अनुमानमा आधारित छन् । पहिलो मान्यता खानेपानी सिस्टमभन्दा बाहिरको पानीबाट रोग फैलिएको हो भन्ने अनुमानमा आधारित छ भने दोस्रो मान्यता खानेपानी प्रशोधनमा हेलचेक्र्याइँ गरिएको छ भन्ने अनुमानमा आधारित छ । यी दुईवटै अनुमान सही हुन् कि होइनन् भन्ने थाहा छैन । यस्तो अवस्थामा दुवै खालका सम्भावना हेर्नुपर्ने हुनसक्छ । यसका लागि महामारी केबाट फैलियो भन्ने प्रश्नको जवाफ थाहा पाउनुपर्छ ।

त्यसैले तेस्रो मान्यता यी दुईवटा मान्यता भन्दा कता हो कता उपयुक्त हुन्छ । त्यो होः

(ग) फलाना नगरपालिकामा हालसालै फैलिएको पानीजन्य महामारी या त निजीकरण गरिएको खानेपानीबाट फैलिएको हो या त खानेपानी प्रणालीभन्दा बाहिरको पानीबाट ।

यसरी परिमार्जन गरिएको मान्यताका आधारमा आफ्नो स्टोरीको खाका फेर्नुपर्ने हुनसक्छ र पहिलेको भन्दा स्पष्ट र सन्तुलित खालको खोज गर्नुपर्छः

(घ) खानेपानी निजीकरण गरिएको फलाना नगरपालिकामा भर्खरै पानीजन्य पखालाको महामारी फैलिएको छ । यो स्टोरीले महामारी कसरी फैलियो भन्ने कुरा पत्ता लगाउने कोशिश गर्छ । मानिसले निजी क्षेत्रको पानी खान नसकेर प्रदूषित धारा अथवा कुवाको पानी खानाले महामारी फैलिएको हो कि ? अथवा निजी क्षेत्रको पानी कम्पनीले खर्च घटाउनका लागि पानीको गुणस्तर कायम गर्नेतिर ध्यान नदिएकाले फैलिएको हो ? हामी महामारीको कारण पत्ता लगाउनका लागि वैज्ञानिकहरूसँग कुरा गर्छौं । गरीब मानिसहरूले कहाँको पानी खान्छन् भनी हेर्छौं र स्वतन्त्र विज्ञसँग खानेपानी पोखरी गएर त्यहाँको सुरक्षा मापदण्ड हेर्छौं । यसरी रोग के कारणले फैलियो भन्ने कुरा थाहा पाइसकेपछि हामी फेरि यस्तो हुन नदिन के गर्नुपर्छ भन्ने कुरा पत्ता लगाउँछौं ।

यसरी स्पष्ट रूपमा परिभाषित गरिएको मान्यता तयार भइसकेपछि अनुसन्धान योजना बनाउनुुपर्छ । यसका लागि स्रोत पत्ता लगाउनुपर्छ, के कस्ता प्रमाणलाई प्रमाण मान्ने भन्ने आधार तय गर्नुपर्छ । कस्तो अनुसन्धान विधि अपनाउने भन्ने निधो गर्नुपर्छ । कुन मितिमा कुन काम सक्ने भन्ने निर्धारण गर्नुपर्छ र स्टोरी गर्नका लागि कति पैसा लाग्छ त्यसको अनुमान गर्नुपर्छ । तलका अनुच्छेदमा यी चरणमा कसरी योजना बनाउने भन्ने बारेमा उल्लेख गरिएको छ । यी हरेक चरण कसरी लागू गर्नुपर्छ भन्ने बारेमा विस्तृत विवरण अर्काे खण्डमा दिइएको छ ।