WHAT'S NEW?
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

स्टोरीको ठोस आइडिया पाइसकेपछि र स्टोरीको मान्यता तयार गरिसकेपछि कुन कुन स्रोतबाट के कस्ता जानकारी पाइन्छन् भनी पत्ता लगाउनुपर्छ । स्टोरीका लागि सबैभन्दा महत्वपूर्ण व्यक्ति को हुन् र उनीहरूका काम रेकर्ड भएका कागजात के के हुन् भनी पत्ता लगाउनुपर्छ । सार्वजनिक रूपमा उपलब्ध धेरै रेकर्डहरूले सरकार, अस्पतालका स्टाफ, संस्थान, माफिया र भ्रष्ट राजनीतिज्ञका बारेमा धेरै कुरा बताउँछन् । तपाईंले शुरुमा गरेको अनुमानलाई प्रमाणित गर्न अनि तपाईंको शुरूको मान्यतालाई सही वा गलत भन्न धेरै स्रोतले सहयोग गर्छन् । हरेक जानकारी पाउँदा त्यसलाई कम्तीमा दुईवटा स्रोतले पुष्टि गर्नुपर्छ । यसको अर्थ हो कुनै एउटा जानकारीलाई दुईवटा स्वतन्त्र स्रोतले पुष्टि गरेपछि मात्रै विश्वास गर्नुपर्छ । यी स्रोतले पृष्ठभूमि विज्ञका रूपमा सहयोग गर्छन् । आफ्नो एड्रेसबूकमा उनीहरूलाई सम्पर्क गर्ने सूत्र टिप्नुपर्छ । पत्रकारले दुई किसिमका स्रोत– प्राइमरी र सेकेन्डरी– मा भर पर्नुपर्छ ।

प्राइमरी स्रोतः प्राइमरी स्रोत भनेका ती स्रोत हुन् जसले तपाईंले गरिराखेको स्टोरीका विषयमा देखेर जानेका छन् वा भोगेर जानेका छन् । उदाहरणका लागि, जुन बिरामीले अस्पतालको औषधि पसलबाट बेच्नुपर्ने औषधि नर्समार्फत अनियमित तरिकाले किनेको छ उसले आफ्नो अनुभव बताइदिन सक्छ । ऊ प्राइमरी स्रोत हो । तर उसले नर्सले अरू यस्ता के के काम गर्छन् भनी बताउन सक्दैन । खानेपानीको पोखरीमा महीनामा एक पटक (हप्तामा एक पटक गर्नुपर्नेमा) खानेपानी परीक्षण गर्न आदेश पाएको कर्मचारी पनि प्राइमरी स्रोत हो । अन्तर्राष्ट्रिय हतियार कम्पनीले मन्त्रीका खातामा पैसा जम्मा गरिदिएको देखाउने मन्त्रीको बैंक स्टेटमेन्ट पनि प्राइमरी स्रोत हो । प्राइमरी स्रोत सबैभन्दा मूल्यवान् स्रोत हुन् किनभने उनीहरूले प्रत्यक्ष प्रमाण दिन्छन् तर उनीहरूले दिएका प्रमाण जाँच गर्नु र ती आधिकारिक हुन् भन्ने कुरामा आफू यकिन हुनु भने पर्छ । तर यस्ता स्रोत पाउन सबैभन्दा कठिन हुन पनि सक्छ । यस्ता कुराको अनुभव गरेका मानिसहरू रेकर्डमा आफ्ना कुरा नबताउन सक्छन् किनभने यसो गर्दा उनीहरू सताइने डर हुन्छ । बैंक स्टेटमेन्ट, अस्पतालका रेकर्ड गोप्य राखिएका हुन्छन् र व्यक्तिको गोपनीयताको हकले गर्दा यस्ता डकुमेन्ट औपचारिक रूपमा माग्न मिल्दैन ।

सेकेण्डरी स्रोतः सेकेण्डरी स्रोतमा संस्थाका प्रतिवेदन लगायत प्रकाशित सामग्री र सुनिजान्ने (देखिजान्ने होइन) का भनाइ पर्दछन् । सन्दर्भ स्थापित गर्न, पृष्ठभूमिको जानकारी लिन, विषयका बारेमा व्याख्या गर्न र थप जानकारी लिन यस्ता स्रोत उपयोगी हुन्छन् । तर सेकेण्डरी स्रोतबाट लिइएका प्रमाणको जाँच गरी सही भएमा मात्र उपयोग गर्नुपर्छ ।

यस बाहेक, स्रोतलाई अर्काे प्रकारले पनि वर्गीकरण गर्न सकिन्छ । ती हुन्ः मानव, कागज, डिजिटल र क्राउड ।

(क) मानव स्रोत

मानव स्रोत पनि धेरै प्रकारका हुन्छन्ः प्रत्यक्ष रूपमा त्यस काममा संलग्न मानिस, प्रत्यक्षदर्शी, विज्ञ तथा त्यस विषयमा रुचि राख्ने, इच्छुक र अनिच्छुक मान्छे । आफूले कुराकानी गर्न लागेको व्यक्ति माथिका कुन वर्गमा पर्छ, कुन हैसियत र कुन योग्यताको र के स्वार्थ भएको व्यक्ति हो भन्ने कुरा थाहा पाउनुपर्छ । खानेपानी निजीकरणसम्बन्धी स्टोरी गर्न लागेको हो भने निजीकरण विरोधी गतिविधिमा लागेका संस्थाले धेरै जानकारी दिनसक्छन्, उनीहरूबाट विपक्षीको कडा विचार पनि पाइन सक्छ । तर त्यस्तो जानकारी निश्चित पक्षबाट आएको हुन्छ । संस्थाका मानिसहरू प्रायशः ठूलो जनसमूहका तर्फबाट बोल्ने गर्छन् । समूहको विचारको सार निकाल्दा उनीहरूले नियतपूर्वक नभए पनि केही महत्वपूर्ण पक्ष समावेश नगरेका वा परिवर्तन गरेका हुनसक्छन् । त्यसैले, थरीथरीका विचार बुझ्ने कोशिश गर्नुपर्छ । समुदायमा गएर कुराकानी गर्ने हो भने त्यहाँका सबै किसिमका मानिस—महिला, पुरुष, युवा, वृद्ध, धनी, गरीब र विभिन्न स्वार्थ भएका मानिस—को विचार आओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । मानिसको भनाइले स्टोरीलाई आधिकारिक र जीवन्त बनाउँछ । त्यसैले, स्टोरी कागजी अथवा इलेक्ट्रोनिक स्रोतमा मात्र आधारित हुनुहुँदैन ।

(ख) कागजी स्रोत

यस्ता स्रोतमा किताब, समाचारपत्र, पत्रिका, सम्झौता तथा बैंक स्टेटमेन्ट जस्ता सरकारी तथा व्यावसायिक क्षेत्रका कागजात पर्दछन् । यसमा त्यस्ता सामग्री पनि पर्दछन् जो व्यापक रूपमा वितरण त गरिएका छन् तर कतै पनि प्रकाशित भएका छैनन् (उदाहरणका लागि, निजी क्षेत्रले तयार गरेका अध्ययन, प्राज्ञिक संस्थाका डिजर्टेशन) । आधिकारिक रूपले गोप्य मानिएका कागजात पनि यस अन्तर्गत पर्दछन् । रिपोर्टरले खोजेका प्रमाण प्रायःजसो अवस्थामा कागजातमा भेटिन्छन् । कागजातमा जानकारी खोज्ने कामलाई पत्रकारितामा ‘कागजातको बाटो हिंड्नु’ भन्ने गरिन्छ ।

कागजातमा रहेका जानकारी खोज्ने काममा खोज पत्रकारले धेरै समस्या बेहोर्नुपर्छ । के कस्ता कागजात पाइन्छन् भन्ने कुरा पत्रकारलाई थाहा नहुन सक्छ । अथवा सार्वजनिक रूपले पाइनुपर्ने कागजात अव्यवस्थित हुन सक्छन्, तिनबाट जानकारी खोज्न कठिन हुनसक्छ अथवा सूचनाको हक सम्बन्धी ऐन नभएकाले पत्रकारले सार्वजनिक निकायबाट कागजात माग्न पाउने व्यवस्था नहुन सक्छ । सरकारी निकायमा भएका जानकारी दिंदा ती जानकारी उनीहरू अथवा सरकारका विरुद्ध उपयोग हुनसक्छन् भन्ने डरले कर्मचारीहरूले जानकारी लिने काममा बाधा पु¥याउन सक्छन् । यो पत्रकारले भोग्नुपर्ने एउटा ठूलो समस्या हो । त्यसैले, प्रारम्भिक अनुसन्धानकै वेलामा खोज पत्रकारले आफूले अध्ययन गरिरहेका विषयमा के कस्ता कागजात हुनसक्छन्, ती कहाँ र कसरी राखिएका छन् अनि ती कागजात लिन के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । यसका लागि अनुमति लिनुपर्छ भने त्यो काम अनुसन्धानको शुरूमै गरिसक्नुपर्छ । यस्तो अनुमति लिन हप्तौं वा महीनौं लाग्न पनि सक्छ । वार्षिक प्रतिवेदन वा महालेखा परीक्षकका प्रतिवेदन जस्ता सजिलै पाइने कागजातलाई कम महत्वपूर्ण ठान्नुहुँदैन ।

(ग) डिजिटल स्रोतः

यसमा वेबसाइट अनि डिजिटल स्वरूपमा राखिएका जानकारी पर्दछन् । यस्तो स्रोतबाट जानकारी बटुल्न असाधारण क्षमता चाहिंदैन । हामीलाई अचम्म लाग्ने गरी धेरै सामग्री अनलाइनमा राखिएका छन् । तर ती जानकारी कसले राखेको हो, उनीहरू ती जानकारी राख्न योग्य छन् कि छैनन् र उनीहरूले यस्ता जानकारी के नियतले राखेका हुन् भन्ने कुरा थाहा पाउनुपर्छ । कुनै कर्मचारीले आफ्ना बारेमा के लेखेको छ, उसका साथी र परिवारका सदस्यले उसका बारेमा के लेखेका छन् भन्ने कुरा थाहा पाउनुपर्छ । वेब भनेको तुलनात्मक रूपमा कसैले नियन्त्रण नगरेको ठाउँ हो । यहाँ जसले जे जानकारी पनि राख्न सक्छ । बंग्याइएका जानकारी पनि राख्न सक्छ । यस बाहेक, वेबमा भएका जानकारी धेरै पुराना हुनसक्छन् । ती जानकारी काम नलाग्ने भइसकेका हुनसक्छन् । आफूले अध्ययन गरिरहेका विषयमा पुराना तर उपयोगी जानकारी भेटिए भने त्यस विषयका सबैभन्दा पछिल्ला जानकारी खोज्नुपर्छ । यस बारे थप जानकारीका लागि युरोपेली पत्रकारिता केन्द्रले प्रकाशित गरेको भेरिफिकेसन ह्यान्डबूक डाउनलोड गर्नुहोस् । यो सित्तैंमा डाउनलोड गर्न पाइन्छ । यसमा डिजिटल फम्र्याटमा रहेका जानकारी लिन चाहिने सीप, विधि र मार्गदर्शन दिइएका छन् ।

(घ) क्राउड सोर्सिङः

यसअन्तर्गत मानव र डिजिटल दुवै स्रोत पर्दछन् । यो यस्तो विधि हो जहाँ आफूले स्टोरी गरिरहेका विषयमा आफूलाई जानकारी दिन पाठकलाई आह्वान गरिन्छ ।

जानकारी लिनका लागि पत्रकारितामा अपनाइआएका परम्परागत तरिकाबाट जानकारी पाइएन भने सूचनाको हकको उपयोग गर्न सकिन्छ । तर यसको उपयोग गर्नुभन्दा पहिले त्यस्तो कानूनको अध्ययन राम्रोसँग गर्नुपर्छ ।