WHAT'S NEW?
  • Don’t miss the newest edition – Coming soon the Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

खोज पत्रकारिता गर्नका लागि कुनै पनि काम कसरी हुनुपर्ने हो भन्ने थाहा पाउनुपर्छ । यो कुरा थाहा भएपछि त्यो काम हुनुपर्ने जसरी भएको रहेछ कि रहेनछ भनी थाहा हुन्छ । हुनुपर्ने जसरी भएको रहेनछ भने त्यो खोज पत्रकारका लागि स्टोरी हुन्छ । यही आधारमा स्टोरी बनाउने योजना तयार हुन्छ । थप जानकारी खोज्नका लागि यस्ता प्रश्न सोध्नुपर्छ ः यो काम गर्ने प्रक्रिया के हो अथवा यो काम कसरी हुनुपर्ने हो ? यो काम कसले, कहिले र कसरी गर्नुपर्ने हो ? यो प्रक्रियासम्बन्धी कागजात र रेकर्ड कसरी राखिन्छ ? यसका मापदण्ड के कस्ता छन् ? ती मापदण्ड कसरी तय गरिएका हुन् ? यिनको पालना कसले गराउँछ ? यी प्रश्नका जति विस्तृत र व्यापक जानकारी लिन सक्यो त्यस काममा कहाँ र कहिले गल्ती भयो भनी उति बढी मात्रामा थाहा पाउन सकिन्छ ।

यस बाहेक, आफूले खोज गरेका सूचनाको समयक्रम लेखेर राख्नुपर्छ । यसो गर्नुको अर्थ आफ्नो स्टोरी पनि यही समयक्रममा राख्नुपर्छ भन्ने होइन । आफूले पाएका जानकारीलाई घटना भए अनुसारका समयक्रममा राख्नका लागि यसो गर्नु परेको हो । कुन काम पहिले भयो र कुन काम त्यसपछि अनि कुन कुन काम सँगसँगै भए भन्ने बारे स्पष्ट तस्वीर लिनका लागि यसले सहयोग गर्छ ।

गुणात्मक र संख्यात्मक ज्ञानका बीचको अन्तर पनि थाहा पाउनुपर्छ । संख्यात्मक भन्नाले संख्याले बताउने जानकारी हो जसलाई नक्शामा अंकित गर्न सकिन्छ । उदाहरणका लागि, कुनै निश्चित औषधि बनाउनका लागि त्यसको गुणस्तरको जाँच कति पटक गर्नुपर्छ ? पोखरी वा नदीमा प्रदूषणको मात्रा कति छ ? वितेका पाँच वर्षमा शहरमा अपराध बढेका छन् कि घटेका ? प्रायःजसो स्थानीय स्टोरीमा भएका यस्तै साना संख्याका आधारमा त्यस विषयमा ठोस प्रमाण जुटाएर त्यसलाई राष्ट्रिय महत्वको विषय बनाउन सकिन्छ । कुनै ठाउँको स्कूलमा विद्यार्थीको भर्ना दर घटेको स्टोरीलाई आफ्नो देशको समग्र अवस्थासँग तुलना गर्न सकिन्छ ।

यसको उल्टो, गुणात्मक सूचनाले मानिस, घटना, कारण, नियत, मनोभाव र तर्क जस्ता जानकारी भन्ने बुझाउँछ । धेरै ठाउँमा संख्यात्मक सूचना अथवा लिखित रेकर्ड पाउन कठिन हुन्छ किनभने त्यस्ता सूचना अथवा रेकर्ड राखिएकै हुँदैनन् । कागजात नपाइने यस्तो अवस्थामा खोजी गर्ने अरू दुईवटा तरिका छन्ः आफैंले अवलोकन गर्ने र सम्बन्धित मानिससँग पहिल्यै निर्धारित प्रश्नावलीका आधारमा जानकारी लिने । यसो गरेर आफ्नै डेटाबेस तयार गर्न सकिन्छ । यहाँ के कुरामा ध्यान दिनुपर्छ भने कुनै पनि विषयमा खोज गर्न शुरू गर्दा थप जानकारीका लागि फलानो मानिस अथवा फलानो समुदायलाई भेट्नुपर्छ भन्ने थाहा हुन्छ । तर डेटाबेस तयार गर्दा यसको ठीक उल्टो हुनसक्छ । जस्तै जमीनको कुनै कित्ता अथवा ठेगाना जस्ता जानकारीले तिनका मालिकतिर डो¥याउँछन् ।

यसरी भेला गरिएका जानकारी व्यवस्थित गर्नका लागि केही उपाय छन् जसका सहायताले अन्तर्वार्ता, जानकार स्रोत, जानकारी दिने व्यक्ति र उनीहरूको ज्ञानको क्षेत्र जस्ता जानकारीलाई व्यवस्थित गर्न सजिलो हुन्छ । प्रश्नावली र फ्याक्ट शिट यस्तै उपाय हुन् जसका सहायताले अहिलेसम्म स्थापित तथ्य र प्रमाणित हुन बाँकी आफ्ना मान्यताको रेकर्ड राख्न सकिन्छ । आफ्नो स्टोरीसँग सम्बन्धित स्टोरीको हाइपर लिंक, तथ्य, तथ्यांक, डेटाब्यांक, बैठकका निर्णय पुस्तिका अथवा अन्तर्वार्तालाई व्यवस्थित गर्न पनि सकिन्छ । धेरै पत्रकारहरूले आफ्ना सूचना व्यवस्थित गर्न इभरनोट नामक इन्टरनेट टुल चलाउने गरेका छन् तर गोप्य जानकारी यसमा राख्नुहुँदैन । कुन टुल चलाउने भन्ने कुराको निर्णय गर्नुअघि त्यो कति सुरक्षित हुन्छ भन्ने बारेमा ध्यान दिनुपर्छ ।