WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

कागजी गोहो पछ्याउँदै जाँदा थप जानकारी पाउन सकिन्छ । कागजी गोहो भन्ने भनाइ एउटा रुपकबाट लिइएको हो । यो रुपक खेलसँग सम्बन्धित छ । यसमा लिडर एउटा ठाउँबाट अर्काे ठाउँ दौड्दै जान्छन् । दौड्दा उनले ठाउँ ठाउँमा कागजका टुक्रा खसाउँदै जान्छन् । उनले खसाएका तिनै कागजका टुक्राका आधारमा उनलाई पछ्याउने समूहले सकेसम्म चाँडो उनलाई भेट्नुपर्छ । खोज पत्रकारितामा पनि कागजातले यसैगरी बाटो बताउँछन् । केही डकुमेन्टका आधारमा खोज पत्रकारले मान्यता तयार गर्छ र त्यो मान्यता सही छ कि छैन भनी पत्ता लगाउने रणनीति तयार गर्छ । यस क्रममा एउटा डकुमेन्ट पढ्दा त्यसले थप जानकारीका लागि फलानो डकुमेन्ट पढ भनेर संकेत गरेको हुन्छ । अन्त्यमा, आफूले डकुमेन्टका आधारमा पाएका जानकारीका बीचमा सम्बन्ध खोज्नुपर्छ ।

शुरूका डकुमेन्टमा आफ्नो स्टोरीसँग सम्बन्धित जस्तो लागेका सबै जानकारी टिप्नुपर्छ । उदाहरणका लागि, कुनै मानिसको सीभी भेटियो भने त्यसलाई राम्ररी हेर्नुपर्छ । त्यस सीभीमा उसले सबै वर्ष गरेका कामको विवरण नहुन सक्छ । कुन वेला उसले काम गरेको देखिंदैन भनी पत्ता लगाउनुहोस् । अंकगणित सम्बन्धी सीपको काम यहाँ आउँछ । उसले विभिन्न ठाउँमा काम गरेको वर्ष जोड्नुहोस् र उसले कति वर्षको अनुभव छ भनी दाबी गरेको छ त्योसँग तपाईंले जोडेर निकालेको वर्ष मिल्छ कि मिल्दैन हेर्नुहोस् । उसले कुनै कम्पनीको पद अचानक छाडेको थियो कि भनी हेर्नुहोस् । त्यस सीभीले उसले काम गरेको ठाउँका बारेमा थप जानकारी फलानो डकुमेन्टमा पाइन्छ भनी संकेत गरेको हुनसक्छ । उसले फौजदारी अपराध गरेको रहेछ भने सो कुरा उसले काम गरेका संस्थाका मानव संसाधन शाखामा उल्लेख हुनसक्छ । सरकारी निकाय रहेछ भने उसलाई भविष्यमा सरकारी नोकरीका लागि सामान्यतया अयोग्य÷योग्य हुने गरी बर्खास्त गरिएको हुनसक्छ । यसका आधारमा प्रहरी कार्यालय, अदालत र जेलमा भएका उसँग सम्बन्धित रेकर्ड हेर्नुपर्ने हुनसक्छ । अर्काे शब्दमा, एउटा डकुमेन्टले तपाईंलाई यस विषयसँग सम्बन्धित थप जानकारी÷प्रमाणका लागि अर्काे डकुमेन्ट हेर भनी संकेत गरेको हुनसक्छ ।

आफ्नो स्टोरीका लागि कुन डकुमेन्ट सान्दर्भिक हुन्छ र कुन असान्दर्भिक हुन्छ भनेर छुट्याइसकेपछि तपाईंले आफूले स्टोरी गर्न लागेको मानिसले जसरी सोच्नुपर्छ । उसले के कस्ता काम गरेको हुनसक्ला ? उसले फलानो काम गर्नुको सट्टा फलानो काम गरेको भए अथवा एउटाका ठाउँमा अर्काेलाई ठेक्का दिएको भए के फरक पथ्र्याे ? यसो गरेका खण्डमा नभएका÷नपाइने कुरा खोज्ने काममा फस्नु पर्दैन । धेरै वर्ष विदेशमा बसेको कुनै व्यक्ति प्रधानमन्त्रीको परामर्शदाता नियुक्त भएको रहेछ र विदेश जानुअघि पनि उसले प्रधानमन्त्री कार्यालयमा काम गरेको रहेनछ भने त्यस व्यक्तिले विगतमा गरेका कामका बारेमा प्रधानमन्त्री कार्यालयमा जानकारी नभेटिन सक्छ । यस्तो वेलामा उसम्बन्धी जानकारी विदेशमा खोज्नु उपयुक्त हुन्छ ।

कागजी गोहो पछ्याउँदै हिंड्दा धेरैजसो बाटो सार्वजनिक भइसकेका कागज भएर हिंड्नुपर्ने हुनसक्छ । साथै निजी संकलनमा भएका गोप्य सामग्री खोज्न पनि स्रोतलाई फकाउने रचनात्मक तरिका उपयोग गर्नुपर्छ । धेरै पत्रकारले पुस्तकालय र सूचना अभिलेखालयमा जानकारी खोज्न सजिलो हुन्छ भन्ने ठान्छन् । हो त्यहाँ राखिएका सामग्री वर्णानुक्रममा राखिएका हुन सक्छन् । त्यसैले व्यक्तिको नाम हेर्दा थाहा भइहाल्छ । तर प्रायः यति सजिलो गरी डकुमेन्ट भेटिंदैन । कम्प्युटरमा राखिएका सामग्री खोज्न निश्चित शब्द टाइप गर्दा आफूलाई सान्दर्भिक र असान्दर्भिक दुवै थरीका सामग्री भेटिन्छन् । तर हाम्रो जस्तो देशका धेरै कागजपत्र धूलैधूलोले पुरिएका दराजमा राखिएका हुन्छन् । त्यस्तो सामग्री राखेको कोठा खोलिमाग्नका लागि त्यसको चाबी भएका मान्छेसँग खुशामद गर्नुपर्ने हुनसक्छ । त्यसपछि बल्ल सामग्री कसरी राखिएका छन्, तिनको सूची बनाइएको छ कि छैन भनी हेर्न पाइन्छ । यसो गर्न धेरै समय र ऊर्जा खर्च हुन्छ ।

रेकर्ड राम्ररी राखिएको छ भने कुनै मानिसका बारेमा खोज्नु पर्दा सबैभन्दा पहिले उसको जन्म दर्ता प्रमाणपत्र वा चालक अनुमति प्रमाणपत्र खोज्नु राम्रो हुन्छ । मानिसका बारेमा जानकारी खोज्नका लागि अनलाइन डेटाबेस पनि उपयोगी हुन्छन् । अहिले धेरै पत्रपत्रिका र नेपाल राजपत्र अनलाइन राखिएका छन् । प्रेस काउन्सिलले धेरै पत्रिका स्क्यान गरेर कम्प्युटरमा राखेको छ । यिनबाट धेरै जानकारी पाउन सकिन्छ । प्रायः सबै कार्यालयका वेबसाइट छन् । व्यक्तिले पनि ब्लग बनाएका हुनसक्छन्, सामाजिक सञ्जालमा उनीहरूका अकाउन्ट हुनसक्छन् । तपाईंले जसको जानकारी खोज्नुपर्ने हो उसले वास्तविक नाम प्रयोग गरेको रहेछ भने उसको नाम समाचारमा खोज्दा पनि उसले कुन विश्वविद्यालय पढेको हो जस्ता थप जानकारी पाउन सकिन्छ । बैंक, कम्पनी, सरकारी कार्यालय, व्यक्ति जस्ता विषयमा धेरै समाचार आएका हुनसक्छन् । पत्रिकामा हकदावी गर्न आउने, अख्तियारनामा, नाम परिवर्तन गर्ने, विवाह, मृत्यु, धितो लिलाम बढाबढ टेन्डर, बरामद भएका÷दाबी नगरिएका सामान जस्ता विषयमा विज्ञापन छापिएका हुनसक्छन् । यिनमा पाइने स–साना जानकारी जोड्दा आफूले अनुसन्धान गरिरहेको विषयको पूर्ण चित्र तयार हुनसक्छ ।

छोटकरीमा, यी काम गर्नुहोस्:

  • >   वेब सर्च गर्नुहोस्, सूचना अभिलेखालय जानुहोस् र आफूले स्टोरी गर्न लागेका मान्छेका विषयसँग सम्बन्धित सबै कागजात नपाएसम्म स्रोतसँग कुराकानी गर्नुहोस् र त्यस्ता जानकारी दिन उसलाई मनाउनुहोस् ।
  • >   भेला गरिसकेका डकुमेन्टको मूल्यांकन गरेर निम्न कुरा थाहा पाउनुहोस्: के कस्ता थप जानकारी लिन बाँकी छ ? यी डकुमेन्टमा के कस्ता परस्पर विरोधी कुरा आए ? यिनमा के कस्ता असंगति पाइए ?
  • >   आफूलाई चाहिएका थप जानकारी कुन डकुमेन्टमा पाइएलान् ? परस्पर विरोधी जानकारी कुन सही हुन् कुन गलत भनी जान्न चाहिने जानकारी कुन डकुमेन्टमा पाइएला भनी खोज्न थाल्नुहोस् ।