WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

खोज पत्रकारिता मूलतः गुणात्मक हुन्छ । यसले कुनै काममा किन र कसरी गल्ती भयो र यसका लागि को जिम्मेवार छ भन्ने प्रश्नका जवाफ खोज्छ । तर सबै स्टोरीमा केही संख्यात्मक जानकारी हुन्छन् । जस्तै, कति घाटा भयो ? आफ्नो देशमा गैरकानूनी ढंगले ढुंगा–बालुवा झिक्ने कामबारेका के कस्ता तथ्यांक छन् ? नेपालमा क्यान्सरका बिरामी कति छन् ?

यसको अर्थ हो पत्रकारले संख्यात्मक जानकारी बुझ्नुपर्छ । प्रतिशत निकालेर संख्यात्मक जानकारीको व्याख्या गर्ने जस्ता काम गर्न जान्नुपर्छ । संख्यासँग खेल्न मन पराएका कारणले मानिस पत्रकार हुँदैनन् तर संख्या बुझ्न कठिन छैन । खोजमूलक स्टोरी गर्नका लागि संख्या नबुझी सुखै छैन ।

संख्याको हिसाबकिताब जान्दिनँ भनी ठान्ने मानिसले पनि आफ्नो जीवनमा संख्याको राम्रो उपयोग गरेका हुन्छन् । जस्तै, उनीहरू आफ्नो घरको बजेट मिलाउँछन् । कुन वस्तु कुन समयमा सस्तोमा पाइन्छ भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ । तलब बढाइमाग्न उनीहरू खप्पिस हुन्छन् । स्कूलमा गणित अप्ठ्यारो गरी सिकाइन्छ । आफूले सिकेका गणितका सीप व्यवहारमा कसरी उपयोग गर्ने भन्ने कुरा विद्यार्थीलाई थाहा हुँदैन ।

खुशीको कुरा के छ भने सञ्चारमाध्यममा गणितलाई व्यवहारमा उपयोग गरिन्छ । शुरूमा गणितका आधारभूत कुरा जान्नुपर्छ । उदाहरणका लागि, क्लिनिकका नर्सको आधिकारिक काम र कार्यकुशलताका बारेमा जान्नका लागि यस पेशामा लागेका मानिसले सामान्य दिनमा के कस्ता काम गर्छन् भनेर समय तालिका बनाउने काम विज्ञलाई लगाउन सकिन्छ ।

त्यसपछि अवलोकन र अन्तर्वार्ता गरेर निम्न जानकारी लिन सकिन्छ:

>   उनीहरूको अधिकांश समय के गरेर बित्छ ? नर्सले चोर बाटो अपनाउँछन् ? अपनाउँछन् भने के कस्ता चोर बाटो अपनाउँछन् ? नर्सले भ्याउनै नसक्ने गरी काम गर्नु परेको छ ?

>   नर्सले जे जे काम गर्नुपर्छ भनिएको छ, क्लिनिक आउने सबै मानिसका ती सबै काम गर्न उनीहरूले भ्याउँछन् ? एक जना बिरामीलाई नर्सले कति समय दिनुपर्छ ?

यस्तैगरी, वायु प्रदूषणको स्याम्पल विश्लेषण गर्नु प¥यो भने तपाईंले हावामा कस्ता कस्ता प्रदूषक तत्व छन् भनी थाहा पाउनुपर्छ । त्यसपछि यी तत्व खतरनाक छन् कि छैनन् र कति समय यस्ता प्रदूषकको सम्पर्कमा आउँदा स्वास्थ्यमा असर पर्छ भनी स्वास्थ्य क्षेत्रका विज्ञलाई सोध्नुपर्छ । यो मात्रालाई आफ्नो ठाउँको वायुको गुणस्तरसँग तुलना गर्नुहोस् । यो समस्या धेरै अघि शुरू भएको कुरा तपाईंलाई थाहा हुनसक्छ । यससम्बन्धी तथ्यांक लामो समयदेखि त्यति नफेरिएका हुनसक्छन् । अथवा निश्चित समयमा हरेक वर्ष वायु प्रदूषणको मात्रा बढ्ने गरेको हुनसक्छ । वायु प्रदूषणको मात्रा पहिले भन्दा घटेको हुनसक्छ । पत्रकारले यी संख्याका बारेमा व्याख्या गर्नुपर्छ र समस्या साँच्चै बढेको हो कि समस्या उस्तै छ तर मानिस यसप्रति सचेत भएका मात्र हुन् भनी बताउनुपर्छ । आँकडा मात्रैले केही बताउँदैनन् । त्यसको सन्दर्भ बताइदिनुपर्छ । यो समस्यातिर मान्छेको ध्यान आजभोलि किन गएको हो ? जस्ता कुरा बताउँदा मात्रै स्टोरी हुन्छ ।

अधिकांश देशमा, मौसमसम्बन्धी आँकडा सबैभन्दा लामो समयदेखि संकलन गरिएका आँकडामा पर्छन् । उदाहरणका लागि, अफ्रिकामा औपनिवेशिक शासनले शुरू शुरूमा राख्न थालेका रेकर्डमध्ये मौसमसम्बन्धी तथ्यांक पनि पर्छ । बाढी र सुक्खा जस्ता जानकारी मानिसले मौखिक रूपमा पहिलेदेखि नै राख्ने गर्थे । एशियाका धेरै देशमा मौसमसम्बन्धी छुट्टै डेटाबेस छन् । दक्षिणपूर्वी यूरोपमा, उन्नाइसौं शताब्दीको अन्त्यतिरदेखिका मौसमसम्बन्धी जानकारी पाइन्छन् । यी तथ्यांक हेरेर जलवायु परिवर्तन, बाढी, सुक्खा जस्ता समस्या अहिले मात्र भोग्नु परेको हो कि विगतमा पनि त्यस्ता समस्या भोग्नु परेको थियो भनी पत्ता लगाउन सकिन्छ । मौसममा उतारचढाव भएको छ कि छैन भन्ने कुरा आँकडा हेरेर बताउन सकिन्छ ।

भन्नुको मतलब हो, आफ्नो स्टोरीका लागि काम लाग्ने तथ्यांक कहाँ पाइन्छन् भनी सधैंभरि ध्यान दिनुहोस् । कहिलेकाहीं मानिसले तपाईंलाई स्टोरीको आइडिया दिन सक्छन् तर स्टोरी पत्ता लगाउने काम तपाईंको हो । आफूले पढेका, सुनेका कुराबाट स्टोरीको आइडिया आउन सक्छ । प्रेस विज्ञप्ति सामान्यतया तथ्यांक दिनका लागि तयार गरिएका हुँदैनन् । तर तिनमा यस्ता महत्वपूर्ण जानकारी हुनसक्छन् जसका आधारमा ठूला स्टोरी बनाउन सकिन्छ । खोज पत्रकारले ठूला स्टोरी बन्न सक्ने खालका जानकारीलाई कहिल्यै पनि उपेक्षा गर्दैनन् । सर्भेक्षण कसरी गरियो, स्याम्पल कसरी भेला गरियो, सर्भेक्षणको कामलाई पैसा कसले दिएको हो र त्यसको परिणाम कसले प्रकाशित ग¥यो ? सर्भेक्षणका निश्चित जानकारी लुकाउनु उनीहरूको स्वार्थमा छ कि ? जस्ता प्रश्नको जवाफ पाउँदा राम्रो स्टोरी बन्न सक्छ ।