WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

आफैंले भोगेका विषयमा स्टोरी बनाउँदा दुईवटा समस्या हुन्छन्ः पहिलो, आफू भावनामा बगेर सन्तुलित खोज गर्न बाधा पुग्छ । आफूलाई दुव्र्यवहार गर्ने सरकारी अधिकारीसँग यस्तो रिस उठ्छ कि त्यस विषयका विभिन्न पाटा उधिनेर तथ्य प्रस्तुत गर्नभन्दा उसलाई दोष र आरोप लगाउने काम गरिन्छ । यस्तो वेलामा पत्रकारले आफ्ना व्यवहार र सोचाइलाई नियन्त्रण गरेर आफ्ना स्टोरीमा आफ्नो पूर्वाग्रह आउन दिनुहुँदैन, स्टोरी तथ्यमा आधारित हुनुपर्छ ।

आइलाग्न सक्ने दोस्रो समस्या के हो भने आफूले भोगेको जस्तो व्यवहार धेरैले भोगेको नभएर अपवाद मात्रै हुनसक्छ । त्यसैले अरूले पनि यस्तै व्यवहार भोगेका छन् कि छैनन् भनेर जाँच्नुपर्छ । आफू पत्रकार भएकाले, महिला भएकाले अथवा पुरुष भएकाले अथवा शिक्षित मानिस भएकाले यस्तो समस्या वा व्यवहार भोग्नु परेको हो कि ? अरूले पनि यस्तै व्यवहार भोगेका होलान् ? हरेक दिन यस्तै गरिन्छ कि आज मात्रै यस्तो भएको हो ? आक्कलझुक्कल मात्र हुने घटनालाई सधैंभरि हुने जस्तो मानेर रिपोर्टिङ नगरियोस् भन्नका लागि यसो गर्नु परेको हो । व्यक्तिगत अनुभव मात्रै राखेर स्तम्भ लेख्न सकिन्छ, खोजमूलक रिपोर्टिङ तयार गर्न सकिंदैन । यसलाई रिपोर्ट बनाउनका लागि त्यसका कारण खोज्नुपर्छ, त्यसको सन्दर्भ बुझ्नुपर्छ थरीथरीका मानिससँग कुराकानी गर्नुपर्छ जसले गर्दा रिपोर्ट व्यक्तिगत गुनासो जस्तो नदेखियोस् ।

रिपोर्टरले चिनेजानेका र सहकर्मीका हकमा पनि यही कुरा लागू हुन्छ । उनीहरूले समस्या भोगेका हुनसक्छन् तर त्यो अपवाद हुनसक्छ र उनीहरू एकपक्षीय भएका हुनसक्छन् । यसबाहेक, आफैं समस्या नभोगेका साथीहरूले पनि रिपोर्टरसँग यस्तो कुरा गर्न सक्छन्ः ‘एकजना महिलासँग विमानस्थलका कर्मचारीले घूस मागेको थियो रे भनी मेरा एकजना नातेदारले मलाई बताएका थिए ।’ यस्ता कुराबाट सतर्क रहनुपर्छ । ती महिलाको नाम र ठेगाना थाहा छैन अनि उनी रिपोर्टरसँग कुराकानी गर्न तयार छैनन् भने यसलाई हल्ला मात्र ठान्नुपर्छ । त्यसैले कसैको अनुभवका आधारमा स्टोरी बनाउन सकिन्छ कि भनेर हेर्न त सकिन्छ तर यसमा पूरै भर पर्न भने हुँदैन ।


यस बाहेक, खोज पत्रकारिता केन्द्रको यो सल्लाह ख्याल गर्नुहोस्ः

“तपाईंले चिनेका केही मानिसहरू यस्तो काम गर्छन् जसले आफूले कामका सिलसिलामा थाहा पाएका निश्चित कुरा अरूलाई बताउनुहुँदैन । उदाहरणका लागि, प्रहरी । त्यसैले, आफूले चिनेका मानिसले दिएका जानकारी कसरी उपयोग गर्ने भन्ने कुरा सोच्नुपर्छ । ‘मैले चिनेको मानिस त हो नि अथवा मेरो छिमेकी त हो नि अथवा मेरो साथी त हो नि ∕ उसले भनेका कुरा प्रकाशित गर्न मिलिहाल्छ नि’ भन्नुहुँदैन । यसो गर्दा उसलाई अप्ठ्यारो पर्न सक्छ । त्यसैले उनीहरूबाट आफूले पाएका जानकारी प्रकाशित गर्नका लागि उनीहरूसँग अनुमति लिनुपर्छ ।”