WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

गलत कामसम्बन्धी अधिकांश स्टोरी सुराकबाट शुरू हुन्छन् । उदाहरणका लागि, प्रहरी वृत्तमा काम गर्नेले कार चोरी गर्ने गिरोहमा प्रहरी अधिकारी पनि संलग्न भएको सुराक दिनसक्छ । एकजना व्यापारीकी पहिलेकी श्रीमतीले आफ्नो पूर्व लोग्नेले कर छलेका छन् भनी पत्रिकालाई बताउन सक्छिन् । सरकारले आह्वान गरेको बोलपत्र अनुसार बोलपत्र हाल्ने एउटा कम्पनी र बोलपत्र मूल्यांकन गर्ने अधिकारी बीचमा गलत सम्बन्ध छ भनी राजनीतिज्ञले आफ्ना सम्पादक मित्रलाई बताउन सक्छन् ।

तर यी विषयमा सुराक दिनेले जे भनेका छन् त्यो सत्य नहुन सक्छ । सुराक असत्य हुनसक्छ । कसैलाई फसाउन सुराक दिइएको हुनसक्छ । आफूले पाएको संकेत आंशिक रूपमा मात्र सत्य हुनसक्छ । त्यो कुरा बताएर कसैले आफ्नो स्वार्थसिद्ध गर्न लागेको हुनसक्छ । सत्य भए पनि, नभए पनि आफ्ना कुरा पत्रिकामा आओस् भनेर जानकारी दिइएको हुनसक्छ । त्यसैले सुराक पाइसकेपछि सबैभन्दा पहिले यसका बारेमा निम्न कुरा सोध्नुपर्छः

  • >   मैले यस्तो जानकारी नपाएको भए म यस विषयमा लेख्थें कि लेख्दैनथें?
  • >   यो मेरो रुचिको विषय हो कि होइन ?
  • >   यो आम चासोको विषय हो कि होइन ?

प्रहरी अधिकारी कार चोरी गर्ने गिरोहसँग मिलेका छन् भनी आफूले पाएको सुराक सत्य ठहरियो भने रिपोर्टरले यस विषयमा स्टोरी गर्न थाल्दा हुन्छ।

 


भ्रष्टाचारको विषयः दुई पाटा भएको सिक्का

बोलपत्र मूल्यांकन गर्ने अधिकारी र बोलपत्र हाल्ने कम्पनीबीचको गलत सम्बन्ध अथवा कर छल्ने व्यापारीको स्टोरी गर्ने कि नगर्ने? अर्को एकजना भ्रष्टाचारीले गरेको भ्रष्टाचार उदाङ्गो पार्दा सामाजिक न्याय र सार्वजनिक हितका क्षेत्रमा ठूलो प्रभाव नपर्न सक्छ । भ्रष्टाचार र कर छलीको रोग राज्य संरचनाका अंगअंगमा फैलिएको हुनसक्छ, भ्रष्ट आचरण समाजका केही वर्ग र समूहको नसा–नसामा फैलिएको हुनसक्छ । पत्रकारहरूले के तर्क गर्छन् भने एउटा भ्रष्टाचारीको भ्रष्टाचार उदाङ्गो पार्दा अरू सम्भावित भ्रष्टाचारी डराउँछन् र भ्रष्टाचार विरुद्धको लडाइँ अघि बढ्छ । यो भनाइ केही हदसम्म सत्य छ । आफूले भ्रष्टाचार गरेका खण्डमा कसैले त्यो कुरा बाहिर ल्याइदिन्छ भनेर भ्रष्टाचार गर्न सक्ने ठाउँमा पुगेका मानिस डराउन सक्छन् । अलिकति पैसा जोगिन पनि सक्छ । आफूले तिरेको कर कसरी खर्च भइरहेको भन्ने कुरा जान्न पाउनु आम मानिसको अधिकार हो । तर भ्रष्टाचारका बारेमा धेरैभन्दा धेरै स्टोरी आउँदा पनि राज्यका संरचनाका हरेक अंगमा व्याप्त भ्रष्ट आचरणमा उल्लेखनीय रूपमा प्रभाव पर्दैन किनभने यस्तो चलन जताततै फैलिएको हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने अंग समेत भ्रष्टाचारमा डुबेको हुन्छ ।

तर पत्रकारले भ्रष्टाचारको एउटा उदाहरणलाई कर छल्न दिने, घूस खान दिने समग्र प्रणालीको कमजोरीसँग जोडेका खण्डमा त्यस स्टोरीको उल्लेखनीय प्रभाव पर्न सक्छ । कर छलेको हुनाले स्वास्थ्य संस्थामा डाक्टर र औषधि पठाउन खर्च पुगेन भनी खोज पत्रकारले भ्रष्टाचार र त्यसको असरका बीचमा सम्बन्ध स्थापित गर्न सकेमा ‘अर्काले खाएको भनेर पत्रकार रोएको’ मात्रै ठहरिंदैन, उसले सामाजिक समस्याका बारेमा बताएको ठहर्छ ।