WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

थरीथरीका प्रकाशन स्टोरी आइडियाका सबैभन्दा ठूला स्रोत हुन् । यस्ता प्रकाशन पढ्नु आफ्नो पेशागत दक्षता र लेखन सीप सुधार्ने सबैभन्दा राम्रो उपाय हो । आफ्नो बिटका विषयमा प्रकाशित हरेक कुरा पढ्नु गम्भीर पत्रकारको पेशागत कर्तव्य हो, खोजमूलक पत्रकारिता गर्ने आधार हो । नपढ्ने पत्रकारले आफूले रिपोर्टिङ गर्ने विषयमा कसरी काम हुन्छ, त्यहाँ कस्ता प्रक्रिया अपनाइन्छन् भन्ने कुरा राम्रोसँग बुझ्दैन । यसो भएपछि गलत काम भएको रहेछ भने पनि त्यो कुरा थाहा पाउँदैन । आफूले यसै थाहा पाउने जानकारी पर्गेल्न धेरै समय खर्च गर्नुका सट्टा आफ्नो ज्ञानको दायरा फराकिलो पार्न निरन्तर नयाँ जानकारी खोजी रहनुपर्छ ।

इन्भेस्टिगेटिभ रिपोर्टर्स एन्ड एडिटर्स ९आईआरई० का पूर्व कार्यकारी निर्देशक ब्रान्ट हस्टनले सो संस्थाले निकालेको इन्भेस्टिगेटिभ रिपोर्टर्स ह्यान्डबूक मा लेखेका छन्— स्थानीय पत्रिकामा छापिएका सामग्रीमा खोजमूलक स्टोरीका धेरै बीउ भेटिन्छन् । इच्छापत्र, स्वामित्व परिवर्तन, धितो लिलाम, बोलकबोल, बोलपत्र, जफत गरिएको सम्पत्ति, सम्पत्ति दावी सम्बन्धी सूचना जस्ता विज्ञापनमा स्टोरी आइडिया लुकेका हुनसक्छन् । ती पत्रिकामा नयाँ निर्माणका काम अथवा सरकारी आयोजना अथवा स्थानीय अदालतका मुद्दा आदि विषयमा रोचक रिपोर्ट छापिएका हुनसक्छन् । ट्राफिक नियम उल्लंघन गरेर गाडी हाँक्ने चलनका विषयमा पनि समाचार छापिएका हुनसक्छन् ।

छापिएका स्टोरीको फलोअप गर्ने मामलामा पत्रकार धेरै पछि परेका छन् । पाठक सर्वेक्षण र निश्चित समूहमा गरिएका छलफलबाट पाठक फलोअप स्टोरी पढ्न चाहन्छन् भन्ने देखिएको छ । स्टोरी छापिएपछि के भयो, यसो किन भयो अथवा दिनैपिच्छे छापिने, टुक्रे समाचारका पछाडि कस्ता ठूला स्टोरी छन् भन्ने कुरा पाठक पढ्न चाहन्छन् । कुनै घटना किन भयो भनी जवाफ नखोजिएका अथवा स्टोरीले समेटेको विषयका सानो पक्ष मात्रै समेटिएका अर्थात् बृहत् पक्षमा ध्यान नदिएका समाचारमा ध्यान दिनुहोस् । झट्ट हेर्दा एक थोक लाग्ने अथवा नियमित आइरहने स्टोरीलाई अन्य किसिमले लेख्न सकिन्छ कि भनी ध्यान दिनुहोस् ।

सरकारी तथा गैरसरकारी संस्थाका प्रतिवेदन निरस र पढ्न कठिन हुन्छन् । धेरै पत्रकारले यस्ता प्रतिवेदन ख्याल ख्याल जस्तो गरी पढ्छन्, तिनमा गज्जबका स्टोरीका आइडिया भेटिन्छन् भन्ने ठान्दैनन् । त्यस्ता प्रतिवेदनका विषयसूची ध्यान दिएर पढ्यो भने नयाँ र चुनौतीपूर्ण जानकारी भेटिन सक्छन् जसका आधारमा अर्को खोजमूलक स्टोरी थाल्न सकिन्छ ।

पैसा नभएकाले अथवा भौगोलिक कारणले गर्दा पत्रकारले विदेशी प्रकाशन अथवा वेबसाइट ९पैसा तिर्नुपर्ने० पढ्न नपाएका हुनसक्छन् । खोज पत्रकारले कुनै न कुनै उपाय अपनाएर आफूलाई अद्यावधिक राख्नुपर्छ । विभिन्न राजदूतावास र गैरसरकारी तथा सामाजिक संस्थाका पुस्तकालयमा इन्टरनेट निःशुल्क दिइएको हुनसक्छ । अरू विकल्प छैनन् भने यस्ता ठाउँमा गएर पनि पत्रकारले आफूलाई अद्यावधिक राख्न सक्छन् ।

इन्टरनेटमा नियमित रूपमा समाचार साइट र फेसबूक तथा ट्वीटर जस्ता सामाजिक सञ्जाल हेर्नुहोस् जहाँ थरीथरीका मानिसका थरीथरीका विचार र तिनका विपक्षका विचार पाइन्छन् । ट्वीटरमा सामान्य जानकारी र समसामयिक विषयका ताजा समाचार पाइन्छन् । छिनछिनमा नयाँ कुरा भइरहने र पुराना मान्यताका ठाउँमा नयाँ मान्यता स्थापित हुने स्वास्थ्य अथवा विज्ञानका क्षेत्रमा भएका नयाँ कुरा थाहा पाउन सामाजिक सञ्जाल अझ बढी उपयोगी हुन्छन् । यूरोप र अमेरिकामा एन्टिरेट्रोभाइरल औषधि परीक्षण सफल भएको धेरै वर्षपछि पनि विकासोन्मुख देशका धेरै पत्रकारले एड्सको प्रभावकारी उपचार भएन भनेर स्टोरी लेखिरहेका हुनसक्छन् । उनीहरूले एड्सको उपचारका क्षेत्रमा भएका प्रगतिका बारेमा थाहा नपाएर यसो गरेका हुनसक्छन् । नयाँ कुरा थाहा नपाउने पत्रकारले आधारभूत स्वास्थ्य सेवाका बारेमा जनचेतना जगाउन सक्दैनन् ।