WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

सबै स्टोरीको शुरूआत र अन्त्य राम्रोसँग भएको हुनुपर्छ । जुनसुकै खालको लेखाइमा पनि शुरूआत र अन्त्य सबैभन्दा महत्वपूर्ण भाग हुन् । राम्रो शुरूआतले पाठकलाई स्टोरीतर्फ तान्छ र पूरै स्टोरीमा के छ भन्ने कुराको झलक दिन्छ । अधिकांश अध्ययनबाट के देखिएको छ भने जुन स्टोरीको शुरूआत राम्रोसँग भएको छैन त्यो स्टोरी पाठकले पढ्दैनन्, विषय जतिसुकै राम्रो भए पनि । यस्तैगरी, अन्त्य यस्तो कुरा हो जुन स्टोरी पढ्ने पाठकले पछिसम्म सम्झिइरहन्छन् ।

शुरूआत गर्ने केही तरिका यस प्रकार छन्ः 

>   व्यक्ति चित्र वा दृश्य
>   स्टोरीको विषयको सार खिचिएको एउटा छोटो वाक्य (पूरै स्टोरी बताउने होइन)
>   परिणाम अथवा प्रभाव । यसपछि यस्तो परिणाम कसरी आयो भनी स्टोरीले बताउनुपर्छ ।

स्टोरी जसरी शुरू गरे पनि पाठकलाई स्टोरीका बारेमा बताउन धेरै ढिलो गर्नुहुँदैन । सामान्य नियम के छ भने स्टोरीको शुरूको भाग अथवा लिडमा स्टोरीको १० प्रतिशत भन्दा बढी अंश हुनुहुँदैन । स्टोरी जसरी शुरू गरे पनि हुन्छ तर शुरूमै एकपछि अर्काे तथ्यांक दिनु भने हुँदैन । स्टोरीको अन्त्य अर्थात् निष्कर्षमा पनि यही कुरा लागू हुन्छ ।

स्टोरी अन्त्य गर्ने केही तरिकाः 

>   स्टोरी गाँठो पार्ने (स्टोरीमा उल्लेख भएका मानिसलाई के भयो अथवा अब के हुन्छ भन्ने कुरा बताउने)
>   स्टोरीको विषयको सार दिने जसले गर्दा त्यस विषयमा हामीले किन रुचि राख्नुपर्छ भन्ने कुरा पाठकले सम्झन्छन्
>   पाठकको दिमागमा झट्का दिने
>   सन्दर्भ बताइदिने । स्टोरीको सन्दर्भ बताएर पाठकलाई यस विषयमा आशा गर्ने ठाउँ कत्तिको छ, त्यसो गर्न के कस्ता बाधा छन् भनी बताइदिने ।
>  शुरूमा जो मानिसका बारेमा वर्णन गरिएको छ उसका बारेमा बताउने र उसलाई आफ्ना अन्तिम कुरा बताउन दिने ।

‘यस विषयमा थप कुरा त भविष्यले नै बताउला’ (अथवा अर्काे किसिमले लेखिएका तर यस्तै भाव दिने) शब्दावलीबाट स्टोरीको अन्त्य कहिल्यै पनि नगर्नुहोस् । खोज पत्रकारले यसो भन्यो र यकिन कुरा गरेन भने पाठकले यो पत्रकार यो विषयमा लेख्न लायक रहेनछ भन्ने ठान्छ ।

स्टोरीका विभिन्न खण्ड जोड्न उपयोग गरिने जोर्नीको महत्व उत्तिकै छ । यो भनेको स्टोरी एउटा खण्डबाट अर्काे खण्डमा र एउटा अनुच्छेदबाट अर्काे अनुच्छेदमा कसरी जान्छ भन्ने हो ।

विभिन्न खण्ड र अनुच्छेद जोड्ने केही जोर्नी यस प्रकार छन्ः 

>   वेला वेलामा विषय सम्झाउने ।
>   विभिन्न खण्डलाई जोड्न र तिनलाई जीवन्त बनाउन अलि लामा रूपक प्रयोग गर्ने उदाहरणका लागि, वातावरणलाई मानिसको शरीरका रूपमा प्रस्तुत गर्न सकिन्छ जहाँ सबै अंगले मिलेर काम गर्छन् ।
>   आफूले खोजी गरेको विषयसँग मिल्दा चित्र, वस्तु, उखान अथवा अन्य कुरा प्रयोग गर्ने । आफूले जटिल तर्क गरेका वेला पाठकलाई आफूसँगै डो¥याउनका लागि केही साधारण शब्दहरूले एकदमै धेरै सहयोग गर्छन् । ‘र’ लेखेर पाठकलाई
>   अघिल्लो अनुच्छेदबाट पछिल्लो अनुच्छेदमा लैजान सकिन्छ । ‘तर’ लेख्दा पाठकलाई अब स्टोरीले अहिलेको भन्दा उल्टो कुरा भन्ने रहेछ भनी जानकारी मिल्छ । परिणाम देखाउनु छ भने ‘त्यसैले’ लेख्न सकिन्छ । एकपछि अर्काे काम भएको छ भनी बताउनु परेको छ भने ‘त्यसपछि’ लेख्न मिल्छ ।

पहिलो मस्यौदा तयार गरिसक्दा स्टोरी अझै परिष्कृत भइसकेको नहुन सक्छ । लामो स्टोरी हुनाले केही काम गर्न अझै बाँकी हुनसक्छ । जस्तै रिपोर्टिङ थालेका वेला भेला गरेका जानकारी अहिले पनि सही छन् अथवा ती पुराना भइसके अथवा तीभन्दा पछि यस्ता जानकारी पाइए जसले ती जानकारीलाई गलत सावित गर्छन् । यस्तैगरी, नयाँ तथ्य, नयाँ वैज्ञानिक रिपोर्ट अथवा नयाँ परीक्षण रिपोर्ट आइसकेका हुनसक्छन् । यति वेला एकपटक यस्ता कुरा खोज्नुपर्छ । प्रकाशित सामग्रीबाट उद्धृत जानकारीलाई घटाउनुपर्ने हुनसक्छ । यस्ता कुरालाई मूल स्टोरीबाट झिकेर बक्स अथवा साइडबारमा राख्नुपर्ने हुनसक्छ । स्टोरीलाई राम्रो पार्न धेरै पटक लेख्नुपर्छ । रिपोर्टरले लेखेका कुरा सम्पादन गर्नु भनेको नचाहिने काम होइन, अनावश्यक सोख होइन । स्टोरीलाई राम्रो पार्न नगरी नहुने काम हो । आफ्नो स्टोरी पुनर्लेखन, सम्पादन र समीक्षा गर्दा दिक्क लाग्यो भने यो काम गरिदिन आफ्ना टोलीका अरूलाई अनुरोध गर्न सकिन्छ । अरूसँग मिलेर काम गर्दा नयाँ विचार आउँछन् ।