1.2. अनुच्छेद लेखन


हरेक अनुच्छेद एउटा सानो स्टोरी हो । एउटा अनुच्छेदमा तपाईंले गरेको अनुसन्धानको एउटा पक्ष राखेर त्यसका बारेमा पूर्ण रूपमा व्याख्या गर्नुपर्छ । आफूले तयार गर्न लागेको ठूलो स्टोरीलाई अडियन्सले बुझ्न सक्ने गरी स–साना खण्डमा बाँड्नुपर्छ । शुरूमा आफूले कुन पक्षका बारेमा बताउन लागेको हो त्यो लेख्नुपर्छ अथवा यसअघिको विषयसँग जोड्नुपर्छ । त्यसपछि निम्न कुरा हुनुपर्छः

(क)  प्रमाण (विस्तारमा, भनाइ, तथ्य–तथ्यांक)
(ख)  परिभाषा अथवा व्याख्या
(ग)  सन्दर्भ, इतिहास, तुलना अथवा परस्पर विरोधी कुरा
(घ)  कारण र परिणाम
(ङ)  पक्ष विपक्षका तर्क
(च)  विश्लेषण वा सल्लाह वा परिणाम

दैनिक पत्रिकामा काम गर्ने रिपोर्टरहरू स्टोरीलाई अनुच्छेद अनुच्छेदमा बाँडेर लेख्ने योजना बनाउन र त्यसरी लेख्न मान्दैनन् । यसो किन भएको हो भने उनीहरूका पत्रिकामा उनीहरूले लेखेको सामग्री जस्ताको तस्तै प्रकाशित हुँदैन । उपसम्पादकले थप कुरा राख्न कहिले अनुच्छेद टुक्र्याउँछन् कहिले ठाउँ जोगाउन दुईवटा अनुच्छेदलाई एउटा बनाउँछन् । उपसम्पादकले आफ्ना अनुच्छेद तलमाथि पार्छ भनेर लेख्ने वेलामा चिन्ता नगर्नुहोस् । अनुच्छेद भनेको कुनै पनि स्टोरीका लागि नभई नहुने ईंटा हो । त्यसैले कुन अनुच्छेदमा के लेख्ने भन्ने योजना बनाउनुपर्छ र सोही बमोजिम लेख्नुपर्छ । उपसम्पादकले के कसो गर्छ त्यो पछि देखाजाला ।