1.3. मस्यौदा र पुनर्विचार

1.3. मस्यौदा र पुनर्विचार


लेख्नुअघि आफूले भेला गरेका सामग्रीलाई विभिन्न बुँदा अन्तर्गत छुट्याइसकेको हुनुपर्छ । आफूले उद्धृत गर्ने सामग्री र अनुसन्धान जानकारी भेला गरिसक्नुपर्छ । त्यसपछि पहिलो मस्यौदा तयार गर्नुपर्छ । धेरै पत्रकारले पहिलो मस्यौदा किन तयार गर्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेका हुँदैनन् । पहिलो मस्यौदा भनेको छाप्न ठिक्क भएको स्टोरी होइन । यो स्टोरीको खाका हो जसका आधारमा रिपोर्टरले आफ्नो स्टोरी कस्तो हुन्छ भन्ने कुरा हेर्छ र थप के काम गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछ । यस चरणमा लिडमा लालित्य हुनुपर्छ, अन्त्य छरितो हुनुपर्छ र भाषा परिष्कृत हुनुपर्छ भन्ने छैन । यी काम पछि गर्दा हुन्छ । यो लेखनको चरण हो सम्पादनको चरण होइन । यति वेला त रिपोर्टरले आफ्ना सामग्री पेजमा जोडजाड पार्ने मात्र हो ।