1. ‘राम्रा’ स्रोत कसरी चिन्ने ?

1. ‘राम्रा’ स्रोत कसरी चिन्ने ?


खोज पत्रकारले स्रोत पहिचान गर्नुु, उनीहरूसँग चिनजान गर्नु र सम्बन्ध कायम राख्नु अत्यन्तै जरूरी हुन्छ । सामान्यतया, कुनै घटनाका साक्षी, भुक्तभोगी अथवा स्टोरीको विषयसँग सोझै सम्बन्धित व्यक्ति सबैभन्दा महत्वपूर्ण र विश्वसनीय स्रोत हुन् । सोधेर अथवा आफू घटनास्थल पुगेका वेला सोधपुछ गरेर त्यो घटना देख्ने को को थिए भनी पत्ता लगाउन सकिन्छ । कसैले मैले घटना देखेको हुँ अथवा म त्यसमा संलग्न थिएँ अथवा म त्यस घटनाको भुक्तभोगी हुँ भन्यो भने पनि त्यत्तिकै पत्याउनुहुँदैन । उसले दावी गरेको कुरा सही हो कि होइन भनी जाँच्नुपर्छ । घटना देख्ने मान्छे भेटियो भने ऊ तपाईंका लागि सूचनाको राम्रो स्रोत हो ।

पत्रकारले लेखेका हरेक स्टोरीले उसको सूचनास्रोतको सञ्जाल बढाउनुपर्छ । रिपोर्टिङ बढ्दै जाँदा यो काम आफैं हुन्छ । तर कुनै निश्चित स्टोरी तयार गर्न काम गरिरहेका वेलामा चाहिं आफ्नो स्टोरीसँग सान्दर्भिक र विश्वसनीय स्रोतको सञ्जाल तयार गर्न आफैंले पहल गर्नुपर्छ । आफ्नै पेशाका साथीलाई कम नआँक्नुहोस्, उनीहरू उपयोगी हुन्छन् तर उनीहरू पनि त्यही विषयमा स्टोरी गर्दैछन् भने यस्तो स्टोरी गर्न लागेको छु भनेर नभन्नु उपयुक्त हुन्छ ।

आफ्नो विषयसँग सम्बन्धित मानिस को को हुनसक्छन् भनी खोज्नुहोस् । खेलकुद क्लब, धार्मिक संस्था अथवा सामाजिक संस्थामा भएका मानिस उपयोगी स्रोत हुनसक्छन् कि भनी विचार गर्न सकिन्छ । आफूले स्टोरी गरिरहेको विषयसँग कुनै न कुनै रूपमा सम्बन्धित भएकाले यस्ता मानिसले अरू मानिसप्रति पूर्वाग्रह राखेका हुनसक्छन् । उसँग कुरा गर्दा यो पनि जान्न खोज्नुहोस् । तपाईंले पत्ता लगाएका मानिससँग पहिले कोही मानिस सम्बन्धित थियो कि भनी खोजी गर्नुहोस् । भूतपूर्व साझेदार, पूर्व श्रीमान्÷श्रीमती, पूर्व कर्मचारी÷डाक्टर÷शिक्षक अथवा भूतपूर्व प्रहरी अथवा सैनिक अधिकारी । तपाईंले पत्ता लगाएका मानिससँग विवाद अथवा मुद्दा भएका कोही मानिस छन् भने तिनीहरूले पनि जानकारी दिनसक्छन् । तर उनीहरूका पनि पूर्वाग्रह हुन्छन् भन्ने कुरा यहाँ पनि ख्याल गर्नुहोस् ।