2.1.2. धाक–धम्की


तपाईंको ‘अभियुक्त’ शक्तिशाली र खतरनाक छ भने उसँग व्यक्तिगत झगडा गर्नुहुँदैन । यसको सट्टामा ऊ अथवा उसको कार्यालयमा प्रश्न पठाउनुपर्छ । उनीहरूका ठाउँमा तपाईं जाँदै नजानु अथवा उनीहरूका मित्रहरूसँग नचिनिनु नै जाती हुन्छ । यस्तो खालको अन्तर्वार्ता स्रोतलाई भेटेर गरेको अन्तर्वार्ता जस्तो राम्रो हुँदैन तर यसो गर्दा स्टोरी लेख्न नपाई तपाईंको ज्यान जाने डर हुँदैन ।

खतरा आइलाग्ने स्टोरी थाल्नुभन्दा पहिले नै तपाईंको प्रकाशन अथवा संस्थाले तपाईंलाई यस्तो अवस्थामा के कस्तो सहयोग र सुरक्षा प्रदान गर्न सक्छ भनी पत्ता लगाउनुहोस् । स्वतन्त्र पत्रकारका हैसियतमा स्टोरी गर्न लाग्नुभएको हो भने आफूले के कस्तो सहयोग जुटाउन सक्छु भनी ख्याल गर्नुहोस् ।

शक्तिशाली व्यक्ति वा संस्थालाई गम्भीर विषयमा टिप्पणी गर्न अनुरोध गर्दा मुद्दा हाल्ने र ज्यान तलमाथि पारिदिने धम्की आउन सक्छ । मुद्दा हाल्ने धम्की दिएर सम्पादकलाई स्टोरी नगर्न दबाब दिन सक्छन् र यस्तो दबाबमा परेर सम्पादकले स्टोरी नगरौं भन्न सक्छन् । तर तपाईंले दह्रा प्रमाण जुटाउनुभएको छ भने सम्पादकलाई स्टोरी गर्न मनाउनुस् । मानहानिको मुद्दा हाल्ने धम्की दिने मानिसले यसै तर्साएको हो, सधैं मुद्दा हाल्दैन भनेर भन्नुहोस् । पहिलो कुरा, उसको छवि पहिल्यै नराम्रो भइसकेको छ त्यसैले अदालतमा उसको मुद्दा कमजोर हुन्छ । दोस्रो, उसले अदालतमा मुद्दा हाल्यो भने उसले लुकाउन खोजेका यस्ता प्रमाण बाहिर आउन सक्छन् जसलाई तपाईंले विना डर छाप्न पाउनुहुन्छ । तपाईंलाई कसैले तर्सायो, मुद्दा हाल्यो वा कुनै किसिमका धम्की दियो भने कमिटी टु प्रोटेक्ट जर्नालिस्ट, रिपोर्टर्स विदाउट बोर्डर्स जस्ता संस्थाको सहयोग लिन सक्नुहुन्छ । खतरामा परेका पत्रकारलाई सहयोग गर्ने संस्थाका बारेमा जानकारी ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम् नेटवर्कमा पाइन्छ ।


स्रोतको मूल्यांकन र छनोट गरिसकेपछि अनि उससँग भेटघाट गर्दा कस्तो जोखिम हुन्छ भन्ने विषयमा विचार गरिसकेपछि अन्तर्वार्ता गर्नुपर्छ । अर्काे खण्डमा अन्तर्वार्ताका प्रश्न कसरी तयार गर्ने, अन्तर्वार्ताका क्रममा कस्तो व्यवहार गर्ने भन्ने बारेमा बताइएको छ ।