4.1. स्याम्पल र तुलना गरिएको समूह


कुनै निश्चित संख्याले मात्रै केही पनि बताउँदैन । जस्तै, ‘प्रश्न सोधिएका ५६ प्रतिशत उपभोक्ताले पानीको गुणस्तर नराम्रो भएको बताए ।’ कुल उपभोक्ता ५० हजार रहेछन् तर १०० जना मात्रै उपभोक्तालाई प्रश्न सोधिएको रहेछ, अनि ५६ जनाले पानीको गुणस्तर नराम्रो छ भनेछन् भने त्यसलाई पत्याउनुहुँदैन । यति थोरै मानिसलाई सोध्दा सबैको विचार झल्कने उत्तर नआउन सक्छ ।

सर्भेक्षणले त्यस विषयको सही तस्वीर देखाओस् भन्नका लागि केही शर्त पूरा गरेको हुनुपर्छ । खानेपानीको उदाहरणमा पत्रकारले यी कुरा सोध्नुपर्छः देशभरको अवस्था झल्काउनका लागि सर्भे विभिन्न शहरमा गरिएको हो कि एउटै शहर अथवा गाउँमा मात्र गरिएको हो ? उत्तर टिप्नका लागि कुन तरिका अपनाइएको थियो ः टेलिफोन, अनलाइन अथवा भेटेर गरिएको अन्तर्वार्ता ? सर्भेमा सबै उमेर र लिंगका मानिसलाई प्रश्न सोधिएको थियो कि निश्चित उमेरका र निश्चित लिंगका मानिसलाई मात्रै ? यी केही उदाहरण मात्र हुन् । फरक फरक विषयमा गरिएको र फरक फरक परिणाम आएको सर्भे कत्तिको मान्य छ भनी थाहा पाउनका लागि पत्रकारले फरक फरक प्रश्न सोध्नुपर्छ ।