1. अन्तर्वार्ता लिनुअघिको तयारी

1. अन्तर्वार्ता लिनुअघिको तयारी


सञ्चारका अरू काम जस्तै अन्तर्वार्ता पनि दुईपक्षीय प्रक्रिया हो । अन्तर्वार्ता कस्तो हुन्छ भन्ने कुरा अन्तर्वार्ता लिने र दिने दुवैमा भर पर्छ । राम्रो अन्तर्वार्ता कुराकानी जस्तो हुन्छ । आफूले खोजेका जवाफ पाउन अन्तर्वार्ताकारले रणनीति बनाई सोही बमोजिम काम गर्नुपर्छ ।

अन्तर्वार्ताभन्दा पहिले स्टोरीका विषय र त्यस विषयसँग अन्तर्वार्ता लिन लागेका मानिसको सम्बन्धबारे पूर्ण अनुसन्धान गर्नुपर्छ । अनुसन्धान गर्दा पृष्ठभूमि जानकारी दिने कागजपत्र हेर्नुपर्छ जसले गर्दा सही प्रश्न सोध्न र त्यस विषयमा विस्तारमा व्याख्या गराउन सकिन्छ । समस्या भएका ठाउँमा गएर थरीथरीका मानिससँग कुराकानी गर्नुहोस् । धेरै मानिससँग कुराकानी गरिएन भने त्यस कामसँग असम्बन्धित थोरै मानिस अथवा स्रोतमा भर पर्नुपर्छ । उदाहरणका लागि, खेतीमा काम गर्ने मजदूर, औद्योगिक मजदूर र अरूलाई हटाइँदैछ भने उनीहरूको कार्यस्थलमै गएर रोजगारदाताले कामदारलाई कस्तो व्यवहार गरेका छन् भन्ने कुरा थाहा पाउनुपर्छ । यी कुरा शहरमा रहेको गैरसरकारी संस्थाका कार्यालयमा पाइँदैनन् । त्यस ठाउँमा आफूले पाएका कुरा त्यस विषयका नीतिगत कागजपत्र, सरकारी प्रतिबद्धता र बजेटमा उल्लेख भएका कुरासँग मेल खान्छन् कि खाँदैनन् भनी हेर्नुपर्छ । यसअघि त्यस ठाउँमा अथवा अरू ठाउँमा यस्तै घटना भएका थिए भने पहिले र अहिलेका घटनाका बीचमा तुलना गर्नुपर्छ । यसरी तयारी गर्दा सान्दर्भिक प्रश्न गर्न र आफ्ना स्टोरीका लागि चाहिने जानकारी लिन सकिन्छ ।