3.1. स्रोतले जवाफ दिन अस्वीकार गरेको कुरा स्टोरीमा लेखिदिनुहोस्

3.1. स्रोतले जवाफ दिन अस्वीकार गरेको कुरा स्टोरीमा लेखिदिनुहोस्


स्रोतले कुनै प्रश्नको जवाफ दिन मानेन र जवाफ दिन्नँ भन्यो भने यस्तो अवस्थामा के गर्ने भन्ने बारेमा तयारी गर्नुपर्छ । रेडियो र टेलिभिजन रेकर्डरमा उसले जवाफ दिन्नँ भनी सोझै अथवा घुमाएर भनेको कुरा रेकर्ड भएकै हुन्छ । यसलाई सम्पादन गरेर स्टोरीमा राख्न सकिन्छ । पत्रिकामा भने तपाईंले यसरी लेख्न सक्नुहुन्छः ‘फलानाले यस प्रश्नको जवाफ दिन मानेन ।’ यसका आधारमा पाठकले के भएको रहेछ भनी आफैं विचार गर्न सक्छन् ।

तपाईंले सोधेका जायज प्रश्नको जवाफ दिन स्रोतले ठाडै अस्वीकार ग¥यो भने अन्तर्वार्ता टुंग्याउँदा कहिलेकाहीं राम्रै हुन्छ । यतिवेला तपाईंले यसो भनेर अन्तर्वार्ता टुंग्याउँदा हुन्छः ‘मेरो स्टोरीको सबैभन्दा महत्वपूर्ण पक्षका बारेमा मैले सोधेका कुराको जवाफ नदिनु होला भन्ने ठानेको थिइनँ । तपाईंले जवाफ नदिने भएपछि म मैले भेटेका प्रमाण, विज्ञ र साक्षीका भनाइका आधारमा स्टोरी लेख्छु । फलानाले यस विषयमा कुनै टिप्पणी गरेन भनी लेखिदिन्छु है त ।’ यसो भन्दा स्रोत बुद्धिमान रहेछ भने उसले थोरै भए पनि जवाफ दिनसक्छ । जवाफ दिएन भने शिष्टतापूर्वक त्यहाँबाट हिंड्नुहोस् ।

फलानो विषयमा म बोल्दिनँ भनेर पहिल्यै तपाईंलाई भनिसकेको भए पनि त्यसबारे प्रश्न सोध्दा राम्रै हुन्छ । प्रसार माध्यमका लागि त यसो गर्नु अझ उपयोगी हुन्छ । स्रोत र अडियन्स दुवैलाई तपाईंले प्रश्न सोधेको कुरा थाहा हुन्छ । यस्तो प्रश्न सोधेन भने पत्रकारले यस विषयमा सोध्दै सोधेन भनेर आरोप आउन सक्छ । मलाई यस विषयमा सोधेको भए जवाफ दिनेथिएँ भनेर स्रोत पछि उम्कन पाउँदैन ।