2. खोज पत्रकारिता किन गर्ने ?

2. खोज पत्रकारिता किन गर्ने ?


खोज पत्रकारिता गर्न धेरै समय लाग्न सक्छ, यो खर्चिलो र जोखिमपूर्ण हुनसक्छ । सामान्य खालका स्टोरी तयार गर्दा पनि सन्तोषजनक पत्रिका निकाल्न सकिने हुँदाहुँदै पनि खोजमूलक स्टोरी गर्नुपर्छ भन्ने कुरामा खोज पत्रकारले सम्पादकलाई मनाउनुपर्छ । खोज पत्रकारिता किन गर्नुपर्छ र खोज पत्रकारिता गर्नुहुँदैन भन्ने मुख्य तर्क के हुन् ?

विकासोन्मुख देशका पत्रिकाका मालिकले खोज पत्रकारितालाई ‘पश्चिमा’ चलन हो र आफ्ना जस्ता देशमा खोज पत्रकारिता उपयोगी हुँदैन भन्ने ठान्न सक्छन् । तर खोज पत्रकारिता गर्न सधैंभरि धेरै समय र पैसा चाहिन्छ नै भन्ने छैन । पत्रकार दृढ र प्रतिबद्ध भएको खण्डमा पैसा नभए पनि राम्रा खोजमूलक स्टोरी तयार हुन्छन् भन्ने कुराका धेरै उदाहरण छन् ।


संयुक्त अधिराज्यको खोज पत्रकारिता केन्द्रका निर्देशक गाभिन म्याक्फाड्यान भन्छन्ः

“‘गम्भीर खोजमूलक स्टोरी प्रकाशित भएपछि मानिसले यसबारेमा चर्चा गर्छन् । उनीहरूले यस्तो स्टोरी आएको छ भनेर अरूलाई भन्छन् । पत्रिकाको बिक्री बढ्छ, दर्शकको संख्या बढ्छ, खोजमूलक स्टोरी समावेश भएको कार्यक्रमले साँच्चैको विश्वसनीयता हासिल गर्छ । सबैभन्दा ठूलो कुरा बफादार समर्थक बढ्छन् । जब कुनै समाचारले मानिसलाई असर गर्छ तब उनीहरू यसका बारेमा कुरा गर्छन् । सबै देशमा यस्तै होला जस्तो लाग्छ । यसले पत्रकारिताको चलन पनि फेर्छ । सम्पादक र कार्यक्रम निर्माताले परिष्कृत पत्रकारिताको अभ्यास गर्छन् । अथवा उनीहरू अझ बढी जुझारु हुन्छन् । खोज पत्रकारितालाई दमन गर्न होइन प्रवद्र्धन गर्न सञ्चारसम्बन्धी कानून कसरी उपयोग गर्ने भन्ने कुरा उनीहरूले थाहा पाउँछन् । थप आक्रामक रिपोर्टिङ गरेर उनीहरूले दर्शक र पाठक बढाउँछन् ।’”


खोज पत्रकारिता किन पनि गर्नुपर्छ भने यसले प्रजातन्त्रलाई मजबूत बनाउन सहयोग गर्छ । सरकारी अधिकारीले दिएका जानकारीमा सीमित भएर रिपोर्टिङ गर्नु भनेको शक्तिमा बसेका मानिसलाई अजेन्डा निर्धारण गर्ने अवसर दिनु हो । यस्तो अवस्थामा शक्तिमा बसेकाले जे भन्यो त्यो मात्र समाचार बन्छ । सञ्चारमाध्यमले कडा प्रश्न सोधेन, सञ्चारमाध्यम दुई पक्षका दावी र प्रतिदावीमा मात्र सीमित भयो अनि आफैंले खोजेका जानकारी र विश्लेषण दिएन भने जनसहभागिता, सरकारको उत्तरदायित्व र पारदर्शिता जस्ता प्रजातान्त्रिक सिद्धान्त असफल हुन्छन् । प्रजातन्त्रको आयु बढाउनका लागि खोज पत्रकारिता नभई नहुने कुरा हो ।