१. संरचना

अन्तर्वार्ता यस्तो किसिमले गर्न तयारी गर्नुपर्छ जसले गर्दा अन्तर्वार्ता मूल रूपमा असफल भए पनि केही न केही जानकारी पाइयोस् ।

१.   वातावरण बनाउने (मानवीय सम्बन्ध स्थापित गर्ने)
२.   सामान्य प्रश्न सोध्ने जसले गर्दा थाहा पाइसकेकै कुरा पुष्टि हुन्छन्
३.   ‘नरम’ प्रश्न सोध्ने
४.   ‘कडा’ प्रश्न सोध्ने

२. शुरूको चरण

आफूले अन्तर्वार्ता गर्न लागेको मान्छेलाई सहज ढंगले तपाईंसँग कुराकानी गर्ने हुन कति समय लाग्ला भनी अनुमान गर्नुहोस् । शुरूमा छोटा र सरल प्रश्न सोध्नुहोस् । भेटघाट हुँदा निर्वाह गर्नुपर्ने औपचारिकता सक्ने बित्तिकै सकेसम्म चाँडो विषयवस्तुमा प्रवेश गर्नुपर्छ । अन्तर्वार्ता गर्दा शुरूमा सरल प्रश्न सोध्ने अनि चुनौतीपूर्ण प्रश्न पछि सोध्ने तरिका अपनाउनुपर्छ । तपाईंले सोध्ने प्रश्न बुझ्न सजिला र स्पष्ट हुनुपर्छ । आफूले सोध्नुपर्ने कुरा सोभैm सोध्नुपर्छ । लामा, अल्मल्याउने खालका प्रश्नभन्दा छोटा, एउटामा आधारित अर्काे प्रश्न सोध्नु राम्रो हुन्छ । यी प्रश्न कसरी सोध्ने भनी पहिल्यै अभ्यास गर्नुहोस् । दुईवटा भाग भएका प्रश्न नसोध्नुहोस् । जस्तो, मन्त्रीज्यू बोलपत्रमा अनियमितता भएको छ भन्ने तपाईंलाई थाहा छ ? बोलपत्र स्वीकृत गर्ने प्रक्रियालाई तपाईंले सुपरीवेक्षण गर्नुभएको छ ? फलानाको कामको ठेक्का फलानाले किन पायो ? यसरी धेरैवटा प्रश्न सोध्दा कुनै एउटाको मात्र जवाफ पाउनुहुन्छ । स्रोतलाई जुन प्रश्नको जवाफ दिन सजिलो÷मन लाग्छ त्यही प्रश्नको मात्र जवाफ दिन्छ ।

३. नकारात्मक

दुईवटा नकारात्मक शब्द भएका प्रश्न नसोध्नुहोस् । यसो गर्दा अनावश्यक अलमल पैदा हुन्छ । उदाहरणका लागि, ‘तपाईंले पैसा तिर्नुभएको छैन भन्ने कुरा सही होइन ?’ यस्तो प्रश्न सोध्दा पैसाको कुरा सोधेको हो कि कुरा सही हो कि होइन भनी सोधेको हो भन्ने पर्छ । यसको साटो ‘तपाईंले पैसा नतिरेको चर्चा सही हो ?’ भनी सोध्दा स्पष्ट र सरल हुन्छ । ‘तपाईंले पैसा तिर्नुभएको छैन ?’ यस्तो प्रश्न सोध्दा अझ राम्रो हुन्छ ।

४. आधारभूत कुरा

आफूले थाहा पाएका कुरा पुष्टि गर्ने खालका प्रश्न यस श्रेणीमा पर्छन् । यी प्रश्नको जवाफ तपाईंलाई थाहा छ । यस्ता प्रश्न गर्दा आधारभूत कुरा थाहा पाइन्छ र आफूलाई स्रोतले बताएका कुरा सही रहेछन् भनी ढुक्क हुन सकिन्छ । यस्ता साधारण प्रश्न गर्ने कस्तो पत्रकार रहेछ भनेर स्रोत छक्क प¥यो भने यसलाई सामान्य रूपमा लिनुस् । यस्ता वेलामा उसलाई यसो भन्न सकिन्छ— ‘मेरा पाठक यो कुरा तपाईंका शब्दमा पढ्न चाहन्छन्, मेरा शब्दमा होइन ।’

५. खुला कि बन्द प्रश्न

बन्द प्रश्न (हो, वा होइन भनी एक शब्दमा उत्तर दिन सकिने प्रश्न) र खुला प्रश्न (जसको जवाफ दिनका लागि स्रोतले व्याख्या गर्नुपर्छ) । खुला र बन्द दुवै खालका प्रश्न सोध्नुपर्छ । कुनै कुरा हो वा होइन भनी जान्नु परेका वेलामा मात्र बन्द प्रश्न सोध्नुपर्छ ।