गल्ती ढाकछोप गर्ने पेशा भएका मानिस (आधिकारिक प्रवक्ता र जनसम्पर्क अधिकृत) ले रिपोर्टर र सार्वजनिक व्यक्तिका बीचका अन्तरक्रियामा धेरै भूमिका खेल्छन् । कहिलेकाहीं, अन्तर्वार्ता गर्दा उनीहरू छेउमै बस्न सक्छन् । कहिलेकाहीं उनीहरूले यी यी कुरा चाहिं नसोध्लास् नि भन्न पनि सक्छन् ।

बेलायती सरकारका प्रवक्ताले यू.के. को गार्डियन पत्रिकाका भूतपूर्व रिपोर्टर डेनिस बार्करलाई गल्ती ढाकछोप गर्ने मानिसका गुह्य कुरा यसरी बताएका थिए । (ती प्रवक्ताको नाम यहाँ नबताउनु अनौठो भएन!)

 उनीहरूले जे निहुँ पार्छन् त्यो सही हुन सक्छ । तर जे भए पनि त्यो निहुँ मात्र हो । तिनलाई चुनौती दिनु तपाईंको अधिकार हो । ‘यो कुरा मलाई तिमीले बताउन सक्दैनौ भने कसले बताउन सक्छ ?’ भनी उसलाई प्रश्न गर्दा राम्रो हुन्छ । धेरैजसो, तपाईंले प्रश्न सोध्नुभएको व्यक्तिलाई ऊभन्दा माथिका मानिसले यो कुरा नबताउनु भनेर आदेश दिएको हुनसक्छ, अथवा उसलाई त्यो कुरा थाहै नहुन सक्छ । अर्का शब्दमा, कुनै कुरा लुकाउनु अथवा आफ्नो लाचारी देखाउनु उनीहरूको जागिर हो । यो उसको समस्या हो, तपाईंको होइन । केही आक्कलझुक्कल अपवादबाहेक अरू वेलामा सरकारले गल्ती गरेको भए पनि त्यसबारेमा आलोचना होस् भन्ने ऊ चाहँदैन । प्रवक्तालाई नराम्रा साथै राम्रा पक्षमा बोल्न दियो भने उसले अलि बढी कुरा बताउन सक्छ ।

⇒ रिपोर्टरहरू नागरिक समाजले महत्वपूर्ण ठानेका विषयमा चासो राख्छन् । सरकारले त्यस विषयमा चासो राखेको रहेनछ भने ती एकदमै जायज चासो हुन् । यतिवेला यस्तो प्रश्न सोध्न सकिन्छ, ‘यसबारेमा तपाईं किन कुरा गर्नुहुन्न ?’, ‘यस विषयमा सरकार किन चिन्तित छैन ?’ सरकारले जे विषयलाई प्राथमिकता दिएको छ रिपोर्टरले पनि त्यही विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने छैन । सरकारले ‘अरू ठूला’ विषयमा चासो राखेको हुनसक्छ । निश्चित कुरा बताउनुस् भन्यो भने प्रवक्ताले असजिलो मान्छन् । उनीहरू यस्ता प्रश्न टार्न खोज्छन् ।

⇒ आक्रामक र भर्खर काम थालेका पत्रकारलाई सजिलै सन्तुष्ट बनाउन सकिन्छ । तर सुसूचित, अनुभवी र शान्त दिमागले काम गर्ने पत्रकारलाई सन्तुष्ट बनाउन त्यति सजिलो छैन । प्रवक्ताहरू पत्रकार आफूले दिएका सामान्य खालका जानकारीबाट सन्तुष्ट होउन् र उनीहरूले थप प्रश्न नसोधुन् भन्ने चाहन्छन् । यसका कुराबाट समाचार बन्दैन भन्ने लागेपछि पत्रकारको रुचि कम भएर जान्छ । अर्काे शब्दमा भन्दा, सनसनीपूर्ण जानकारीको खोजीमा रहेका पत्रकारलाई यो विषय सनसनीपूर्ण छैन भनी ढाँट्नु ढाकछोप गर्ने अर्काे तरिका हो । नयाँ जानकारी लिन ध्यान दिने र प्रतिवद्ध पत्रकारले बोर लाग्दा यस्ता तथ्यबाट पनि राम्रा स्टोरी निकाल्छन् ।

तपाईंले जाँच गर्न खोजेका कुरा झूटा हुन् भनी प्रवक्ताले भन्यो भने त्यो कुरा पत्याइनहाल्नुहोस् । ‘मैले गल्ती भनेको रहेछु भने म माफी माग्छु तर…’ भनिसकेपछि आफ्ना कुरा सही हुन् भनी जोड दिनका लागि अनुसन्धानमा आधारित तथ्य भएका थप प्रश्न सोध्नुहोस् । जवाफमा उनीहरूले प्रश्न सोधे भने तपाईं पनि प्रश्न सोध्नुहोस् । ढाकछोप गर्ने केही प्रवक्ताले प्रश्न सोधेर तपाईंको प्रश्न टार्न खोज्छन् । जस्तै, ‘फलाना मन्त्री विवाहित भएर पनि अझै अर्कासँग प्रेम गरिहिंड्छ भन्ने कुरा सही हो र ?’ ‘यो विषयमा पत्रकारले किन यति धेरै रुचि राखेका हुन् ?’ यस्ता वेलामा यसो भन्न सक्नुपर्छः ‘पत्रकारको विचारबारे कसैले चासो राख्दैन । म यहाँ हाम्रा पाठकले जान्न चाहेका कुरा सोध्न आएको हुँ । मन्त्रीको वैवाहिक सम्बन्धका बारेमा हामीकहाँ अति धेरै पत्र आएका छन्, त्यसैले…’

⇒ प्रवक्ताको जवाफ चित्त बुझेन भने यस्तो प्रश्न सोध्नुहोस्ः ‘मैले तपाईंको कुरा पूरै बुझिनँ । एक पटक दोहो¥याइदिनुस् न ।’ अथवा ‘तपाईंले मेरो प्रश्नको पूरा जवाफ दिनुभए जस्तो लागेन ।’ यो तिमीले मेरा प्रश्नको जवाफै दिएनौ भन्ने शिष्ट तरिका हो । ‘तपाईंले मेरो प्रश्नको जवाफ नदिन खोजेको हो ?’ ‘मेरा प्रश्नको जवाफ दिन किन मिलेन ?’ ‘जवाफ दिंदा तपाईंलाई के हुन्छ ?’ ‘यसको जवाफ कसले दिन्छ त ?’

⇒ कडा प्रश्न सोध्न विभिन्न तरिका अपनाउनुहोस् । कहिलेकाहीं कडा प्रश्न सोधे मात्रै पनि पुग्छ । तर प्रवक्ता कुशल रहेछ र उसले तपाईंका प्रश्न टार्न खोज्यो भने अलि फरक पाराले सोध्दा ऊ जवाफ दिन बाध्य हुनसक्छ । उसलाई गिज्याएजस्तो गरेर जवाफ पर्खंदा पनि राम्रै हुन्छ । जस्तै, तपाईंले फलानो रिपोर्ट पढ्नुभएको छैन जस्तो छ ∕’ ‘यो अलि अप्ठ्यारो विषय हो भन्ने मलाई थाहा छ तर म यहाँ यो प्रश्न मेरा पाठकका तर्फबाट उठाउँदैछु ।’ ‘संसद्मा विपक्षीहरूले यसो भनेका छन् । यसबारे तपाईं के भन्नुहुन्छ ?’