स्रोतले तपाईंका प्रश्नको जवाफ नदिनका लागि उसँग धेरै कारण हुन्छन् । माथि हामीले ढाकछोप गर्ने मानिससँग कस्तो व्यवहार गर्ने बारेमा छलफल ग¥यौं तर मानिसले पत्रकारसँग कुरा गर्न डराउनुका पछाडि वास्तविक र जायज कारण हुन्छन् । तपाईंले कुराकानी गर्न खोजेको मान्छेले आघात भोगेको हुनसक्छ अथवा आफ्ना कुरा बताउँदा आफूलाई समाजले नराम्रो दृष्टिले हेर्ने डर उसलाई हुनसक्छ । यस्तो अवस्थामा अन्तर्वार्ता दिन सामान्य बल गर्दा ठीकै हुन्छ । यतिवेला कुराकानी गर्ने सबैभन्दा राम्रो उपाय हो— उसले चिनेजानेका मान्छेलाई भनेर तपाईंसँग कुराकानी गर्न उसलाई मनाउनु ।

स्रोतलाई केको डर लागेको छ भन्ने कुरा पत्ता लगाउनुहोस् र उसलाई सकेसम्म त्यसरी डराउनुपर्दैन भनेर आश्वासन दिनुहोस् । पूरा गर्न नसकिने आश्वासन दिनुहुँदैन । त्यसैले, के कस्ता आश्वासन दिने भनेर सम्पादकसँग पहिल्यै कुराकानी गर्नुपर्छ ।

उसले भनेका कुरा प्रकाशित गर्न स्वीकृति लिनुहोस्
स्वीकृति भन्नाले ‘यो कुरा प्रकाशित गर्न मिल्छ नि’ भनेर स्वीकृति लिनु मात्र होइन उसले भनेका कुरा प्रकाशित हुँदा के कस्ता परिणाम आउँछन्, उसलाई कस्ता जोखिम आइलाग्छन् र तिनबाट बच्न के गर्ने भन्ने कुरा थाहा पाएपछि दिएको स्वीकृति भन्ने बुझ्नुपर्छ । अर्थात्, यी सबै कुरा थाहा नपाइकन, अन्जानमा दिएको स्वीकृति, स्वीकृति होइन । मानिसलाई नतर्साउनुहोस् तर उसले भनेका कुरा छापिंदा के कस्ता परिणाम आउन सक्छन् भन्ने कुरा लुकाउनु पनि हुँदैन । धेरैभन्दा धेरै मानिसले आफ्ना कुरा बताए, उनीहरूले तपाईंलाई जानकारी दिए भने तपाईंको स्टोरी बलियो हुन्छ । यसरी कुराकानी गर्दा तपाईं र स्रोतबीचको सम्बन्ध सुमधुर हुन्छ । स्रोतको पहिचान लुकाउनुपर्ने अवस्थामा पनि स्रोत र पत्रकारबीच सत्य संवाद हुन्छ ।

सहानुभूति होइन समानुभूति
कुराकानीका क्रममा स्रोतले भनेका कुराको प्रतिक्रिया स्वरुप ‘विचरा’ जस्ता शब्द उच्चारण गर्दा स्रोतलाई आफू निसहाय र कमजोर भएजस्तो लाग्छ । स्रोतलाई आफ्ना कुरा बताउन उपयुक्त वातावरण बनाउनुहोस् । तटस्थ भएर सुन्नुहोस् । स्रोतलाई सोच्न र आवेश रोक्न समय दिनुहोस् । बीचबीचमा उसलाई बोल्न प्रोत्साहन दिनुहोस् । टाउको तलमाथि हल्लाउनुहोस् र ‘ए, अँ, अनि’ जस्ता शब्द बोल्नुहोस् । यस्ता वेलामा जसो गर्दा स्रोतलाई सजिलो हुन्छ त्यसै गर्नुहोस् ।

नटिप्नोस्
कहिलेकाहीं तपाईंले नोट टिपेको कुराले स्रोतलाई अप्ठ्यारोमा पार्न सक्छ । संवेदनशील विषयमा कुराकानी गर्दा टिपोट नगर्नुहोस्, सुन्नुहोस् मात्र । टिपोट पछि गर्न मिल्छ ।

आदर गर्नुहोस्
प्रश्न सोध्न हतार नगर्नुहोस् । स्रोतले दिएका जवाफलाई सनसनीपूर्ण नबनाउनुहोस् । आफूलाई स्रोतका ठाउँमा राखेर हेर्नुहोस् । असंवेदनशील प्रश्न नसोध्नुहोस् ।

सावधान हुनुहोस्
जति संवेदनशील भए पनि तपाईंले अप्ठ्यारा प्रश्न सोध्नुपर्छ । कसैले आफूलाई यातना दिइएको दावी ग¥यो भन्दैमा यो सत्य हुन्छ भन्ने छैन । बढाइँचढाइ गर्ने मानिससँग सतर्क रहनुपर्छ । स्टोरीका लागि संकलन गरेका जानकारी सही हुन् भन्ने कुरा यकिन नभएसम्म स्टोरी अघि बढ्दैन भनी स्पष्ट पार्नुहोस् । कुनै पनि जानकारी सही हो कि होइन भनी थप अन्तर्वार्ता गर्न बिर्सनुहुँदैन ।

अस्वीकृतिः सतर्क हुनुहोस्
विभिन्न कारणले गर्दा मानिसले ढाँट्न सक्छन् अथवा अर्धसत्य बोल्न सक्छन् । यसो गर्नुमा सधैंभरि गलत मनसाय हुन्छ भन्ने छैन । अस्वीकार गर्नु एक किसिमको मनोवैज्ञानिक अवस्था हो जतिवेला मानिस आफ्ना बारेका केही कुरा लुकाउँछन् किनभने यिनको सामना गर्न कठिन हुन्छ । उदाहरणका लागि, बलात्कृत मानिस अथवा अरू बलात्कृत भएको घटना देखेका मानिसले यो कुरा तपाईंलाई नबताउन सक्छन् ।


आफूले तयार गर्न लागेको स्टोरी बनाउनका लागि सही प्रश्न सोध्नुपर्छ । खोजमूलक स्टोरीका लागि जानकारी संकलन महत्वपूर्ण पाटो हो । खोज पत्रकारितामा स्टोरी लेखन अझ महत्वपूर्ण हुन्छ । अर्काे खण्डमा हामी आफूले संकलन गरेका जानकारीका आधारमा राम्रो स्टोरी कसरी लेख्ने भन्ने बारेमा छलफल गर्छाैं ।