स्टोरीको आइडिया भेट्ने बित्तिकै खोज्न दौडिहाल्न मिल्दैन । आइडिया त शुरूआत मात्रै हो । खोजमूलक स्टोरीको ठूलो सामाजिक दायित्व हुनाले र यसबाट कानूनी झन्झट पनि आइलाग्न सक्ने हुनाले रिपोर्टिङ सम्भव भएसम्म पूर्ण, सही र विस्तृत हुनुपर्छ । खोज पत्रकारिताका लागि सामूहिक प्रयास र धेरै स्रोत चाहिने हुनाले समूहका साथीहरूका बीचमा राम्रो सञ्चारसम्बन्ध हुनुपर्छ । खोजमूलक स्टोरी तयार गर्नका लागि स्रोतसाधन पनि जुट्नुपर्छ । यी सबै कारणले गर्दा हरेक चरणका लागि विचार पु¥याएर योजना बनाउनुपर्छ ।

स्टोरीको आइडिया कहाँबाट आयो भन्ने कुरा रिपोर्टरको कार्ययोजनालाई प्रभावित पार्ने एउटा तत्व हो । आइडिया आफ्नै अवलोकनबाट आएको हो अथवा कुनै एउटा घटनाबाट आएको हो भने यस्ता घटना बारम्बार भइरहन्छन् कि आक्कलझुक्कल मात्र हुन्छन् भनी पत्ता लगाउनुपर्छ । कसैले दिएको संकेतबाट आइडिया आएको हो भने त्यो कत्तिको आधिकारिक र विश्वसनीय छ भनी जाँच्नुपर्छ र आफूलाई त्यस्तो संकेत दिने मानिसले आफूलाई संकेत दिनुको उद्देश्य हो के भन्ने कुरा शुरूमै पत्ता लगाउनुपर्छ । आफूले पाएको संकेत सही छ र प्रारम्भिक अनुसन्धानमा कसैले नकार्न नसक्ने प्रमाण भेटिए भने पनि थप खोज गर्न दौडिइहाल्नु हुँदैन । आफ्नो स्टोरी आइडियालाई विषयमा केन्द्रित भएको त्यस्तो मान्यता÷प्रश्नमा बदल्नुपर्छ जसलाई सही वा गलत प्रमाणित गर्न÷जवाफ दिन सकिन्छ । तर शुरूमा बनाएका योजना पछि जस्ताको तस्तै लागू गर्नुपर्छ भन्ने छैन । खोज गर्दै जाँदा नयाँ जानकारी र नयाँ दिशा फेला परे भने आफ्नो योजना बदल्नुपर्छ ।

प्रायशः पत्रकारले पाएका स्टोरी आइडिया यस्ता हुन्छन् तिनमा अति धेरै पक्षमा अनुसन्धान गर्नुपर्ने हुन्छ (त्यसो गर्न असम्भव हुन पनि सक्छ) । खोज पत्रकार तथा अमेरिकी समाचारपत्र अटलान्टा जर्नल–कस्टिच्यूशन का पूर्व व्यवस्थापन सम्पादक थोमस ओलिभरले भनेका छन्ः ‘खोजमूलक स्टोरीको प्रोजेक्टले सबै कुरा समेट्न खोजेको हुनसक्छ । कहिलेकाहीं त आफूले खोज गरिरहेको विषयका सबै पक्ष व्यापक रूपमा समेट्न खोजेको हुनसक्छ । यसो हुनु योजनाको दुर्बल पक्ष हो, सबल पक्ष होइन ।’ यसलाई आफ्नै किसिमले परिमार्जन गर्नुपर्छ । आफूले गर्न लागेको स्टोरीको सारांश लेख्ने कोशिश गर्नुहोस् । यस्तो सारांश लेख्नु भनेको आफ्नो स्टोरीको अन्तिम रूप कस्तो हुन्छ भनी एक अनुच्छेदमा बताउनु हो । यसो गर्नु भनेको पत्रकारका दिमागले स्टोरी बारेमा सोच्नु हो । स्टोरी स्थानीय, क्षेत्रीय अथवा राष्ट्रिय कुन दृष्टिले हेरिएको छ भनेर पनि सोच्नुपर्छ । यस चरणमा निम्न प्रश्नमा ध्यान दिनुपर्छः

> के भइरहेको छ ? तपाईंका पाठकले यस कुरामा किन चासो राख्नुपर्छ ?

> यसमा को को संलग्न छन् ? उनीहरूले यो काम कसरी गरेका छन् ? यसका परिणाम के निस्केका छन् ?

> के गलत भयो ? कसरी गलत हुन पुग्यो ? गलत काम किन भयो ? यसका कस्ता परिणाम निस्केका छन् ?

> समाचार के हो ? स्टोरी के हो ? यस स्टोरीसँग सम्बन्धित मुख्य विषय के हुन् ?

> स्टोरी किन गर्नु परेको हो ? यो स्टोरी प्रकाशित भयो भने कसले लाभ पाउँछ अथवा कसले हानि बेहोर्नुपर्छ ? यस स्टोरीले सामाजिक मूल्य अथवा व्यवहारका बारेमा बहस चलाउन सघाउँछ ? यस स्टोरीले त्रुटिपूर्ण प्रणाली अथवा प्रक्रियामा प्रकाश पार्छ ?

यी प्रश्नको जवाफ दिंदा तपाईंलाई यो स्टोरी कसरी भन्ने र खोज कतातिर जान्छ भन्ने कुरा पत्ता लगाउन सहयोग मिल्छ ।

 


उदाहरणका लागि, खानेपानी वितरण प्रणालीलाई निजीकरण गरेपछि पखाला व्यापक रूपमा फैलियो भने निजी कम्पनीसँग पानी किन्न नसक्ने भएपछि मानिसले कस्तो पानी खाए भनेर स्टोरी गर्न सकिन्छ (यसो गर्दा मुख्य विषय पानी किन्न असमर्थता भन्ने हुन्छ) अथवा खानेपानी पोखरीको अवलोकन गरेर खानेपानी सफा राख्ने काम नभएको भनेर पनि स्टोरी लेख्न सकिन्छ (यसो गर्दा मुख्य विषय खानेपानी सफा पार्न गर्नुपर्ने काम नगरेको भन्ने हुनसक्छ) । यी कुरालाई राम्ररी ध्यान दिएर हेर्दा स्टोरीले उठाउन खोजेको मुख्य विषयमा ध्यान केन्द्रित गर्न सकिन्छ । यसो गर्दा सार्वजनिक चासोका विषयलाई प्राथमिकता दिइन्छ । यसो गर्दा गलत काम उदाङ्गो पार्ने नाममा गरिएको स्टोरी मात्र हुन्छ । स्टोरी निर्धारण गर्दा फरक मानिसले फरक अर्थ लगाउने खालका शब्दावली प्रयोग गर्नुहुँदैन । आफूलाई चाहिने सबै प्रमाण जुटाइसकेपछि आफ्नो स्टोरीको मुख्य विषयमा ध्यान दिएर स्टोरीलाई सही दिशामा अगाडि बढाउन सकिन्छ ।