आफूलाई चाहिने स्रोत अथवा कागजात सधैंभरि भन्ने बित्तिकै नपाइन सक्छन् । यस्तो भएमा तिनलाई प्राप्त गर्ने रचनात्मक तरिका पत्ता लगाउनुपर्छ । सामान्यतया, अध्ययन विधि प्राज्ञिक क्षेत्रका मानिसले उपयोग गर्ने हो पत्रकारले होइन भन्ने ठान्छौं । तर कुरा त्यसो होइन । अध्ययन विधि भनेको आफ्नो अनुसन्धान अघि बढाउन अपनाउनुपर्ने विधि हो । जानकारी खोज्नका लागि विभिन्न तरिका अपनाउन सकिन्छ । कागजातको अध्ययन, अन्तर्वार्ता, विषयसँग सम्बन्धित ठाउँको अवलोकन र अन्य तरिका सँगसँगै अपनाउनुपर्छ । कुन स्रोत उपयोग गर्ने, ती स्रोतबाट जानकारी पाउन कति समय लाग्छ, जानकारी जाँच गर्न कस्ता विधि अपनाउने र विभिन्न चरणका काम कसरी गर्ने भन्ने बारे निर्णय गर्नुपर्छ ।

तपाईंले जहिल्यै पनि आफ्नो मान्यतालाई प्रमाणित गर्ने खालका प्रमाण खोज्नुपर्छ । सन्दर्भ, पृष्ठभूमि, इतिहास र आफ्नो स्टोरीसँग सम्बन्धित घटना कस्तो वातावरणमा भएको हुनसक्थ्यो भन्ने विषयमा जानकारी लिएर पनि स्टोरी तयार गर्न सकिन्छ । यो अप्रत्यक्ष तरिका भयो । यसको सट्टामा आफ्ना स्रोतबाट सान्दर्भिक प्रमाण जुटाउनु सबैभन्दा कुशल तरिका हो ।

कुन कुन विधि अपनाउने भनी योजना बनाउँदा जानकारी खोज्ने क्रममा के कस्ता बाधा आउन सक्छन् भन्ने कुरामा पनि विचार पु¥याउनुपर्छ । उदाहरणका लागि, कुनै कागजपत्र नपाइन सक्छ अथवा स्टोरीका लागि एकदमै महत्वपूर्ण व्यक्तिले तपाईंसँग कुराकानी गर्न अस्वीकार गर्न सक्ला । यसको सट्टामा अर्काे उपाय के छ ? अर्काे उत्तिकै बलियो प्रमाण कसरी जुटाउने ?
आफूले अपनाउने अनुसन्धान विधि निर्धारण गरिसक्ने बित्तिकै कुन कुन काम कतिवेला गरिसक्ने भनी समयतालिका र बजेट बनाउनुपर्छ । समय तालिकामा खोजसँग सम्बन्धित कुन कामका लागि कति समय लाग्छ भन्ने अनुमान गरिन्छ । संग्रहालय÷पुस्तकालयमा कति समय बिताउनुपर्ला ? अन्तर्वार्ता लिन कति समय लाग्ला ? वेबमा भएका जानकारी खोज्न र स्टोरी लेख्न कति समय लाग्ला ? आदि ।

कुन कामले कति समय खान्छ भन्ने अनुमान बाहेक अरू दुईवटा कुरामा ध्यान दिनु जरूरी हुन्छः स्टोरी तयार गर्ने अन्तिम मिति र प्रतिस्पर्धा । स्टोरी गर्न स्वीकृति पाइसकिएको छ भने स्टोरी तयार गरिसक्नुपर्ने म्यादका आधारमा त्यसभन्दा अघि गरिसक्नुपर्ने विभिन्न कामका लागि कति समय छुट्याउने भनेर हिसाब गर्नुपर्छ । त्यसका आधारमा अन्तर्वार्ता र अनुसन्धानका लागि समय निर्धारण गर्नुपर्छ । स्टोरीका लागि स्वीकृति पाइसकिएको छैन र यो विषयमा स्टोरी गर्छु भनी सम्पादकसँग कुरा गर्न बाँकी नै छ भने शुरूदेखि गर्नुपर्ने कुन कुन कामका लागि कति समय लाग्छ भनेर स्टोरी तयार भइसक्ने मिति निकाल्नुपर्छ । यस क्रममा केही समय तलमाथि हुनसक्छ तर समयतालिका अनुसार काम ग¥यो भने समय अलिकति थप्न पनि सजिलो हुन्छ ।

सार्वजनिक चासोको तात्तातो विषयमा स्टोरी गर्न लाग्नुभएको छ भने आफ्नो प्रतिस्पर्धी मिडियाले पनि यस विषयमा स्टोरी गर्न खोजिरहेको हुनसक्छ भन्ने कुरामा ख्याल गर्नुहोस् । यस्तो लाग्यो भने आफ्नो कामको गति बढाएर ऊभन्दा पहिल्यै स्टोरी प्रकाशित गर्नुपर्छ । तर खोजमूलक स्टोरी तयार गर्न हतार गर्नुहुँदैन । यस्तो स्टोरी गर्दा लापरबाही पनि गर्नुहुँदैन । यसो गर्दा कानूनी झन्झट पनि आइलाग्न सक्छ । आफूले कुन समयमा कुन काम गरिसक्ने भन्ने तालिका बनाएको छ भने त्यसका आधारमा छाप्न लायक स्टोरी बनिनसके पनि आफ्नो स्टोरी कहिलेसम्ममा एउटा निश्चित आकारमा आउँछ भनी विचार गर्नुहोस् ।