कुनै व्यक्तिका बारेमा जानकारी लिंदा सबैभन्दा पहिले उसको स्वामित्वमा रहेको सम्पत्ति सम्बन्धी जानकारी लिन सकिएला । त्यसपछि उसले यी सम्पत्ति कसरी हासिल ग¥यो भनी उसको विगत खोतल्न सकिन्छ । जो जो मानिसले उसँग पहिले काम गरेका थिए उनीहरूसँग कुराकानी गर्नुपर्छ । ती मानिसले त्यस व्यक्तिका बारेमा के भन्छन् ? तिनबाट प्राप्त प्रमाणका आधारमा तपाईंले पहिले सोचेजस्तै स्टोरी तयार हुन्छ कि हुँदैन भन्ने कुराको संकेत पाउनुहुन्छ । तर ‘नजिकका जानकार’ सँग सतर्क हुनुपर्छ । उनीहरूले भनेका कुरा यसै पत्याइहाल्नुहुँदैन ।

व्यवस्थित अन्तर्वार्ता भन्नाले पत्रकारले अन्तर्वार्ता लिने शैलीमा कुरा गर्नु मात्रै होइन । यस्तो कुराकानी पनि गर्नुपर्छ तर मानिसका अनुभव र उनीहरूले देखेका कुराका आधारमा डेटाबेस र तथ्यांक तयार गर्न व्यवस्थित प्रक्रिया अपनाउनु पनि पर्छ । आफूले कुराकानी गर्न लागेका सबै मानिसलाई सोध्ने मानकीकृत प्रश्नको सूची भएको व्यवस्थित अन्तर्वार्ता गर्नुपर्छ (कुनै मानिससँगको कुराकानीमा नयाँ जानकारी आयो भने त्यस अनुरूप थप प्रश्न सोध्नुपर्ने हुनसक्छ) । स्रोतले मौखिक रूपले बताएका जानकारी सही हुन् कि होइनन् भनी जाँच्ने अथवा ती जानकारीसँग तुलना गर्न मिल्ने कुनै लिखित रेकर्ड नहुन सक्छ । त्यसैले यस्तो अन्तर्वार्ताबाट पाइएका जानकारीलाई गुणात्मक प्रकृतिका जानकारी बनाएर राख्नुपर्छ ।

यसो गर्दा सानोतिनो सर्भेक्षण गरे जस्तो हुन्छ । यो काम गर्न निम्न तरिका अपनाउनुपर्छ:

(१) तथ्य स्थापित गर्न सक्ने खालका बृहत् प्रश्नहरूको सूची बनाउनुहोस् । उदाहरणका लागि, यस्तो घटना सबैभन्दा पहिले कहिले भएको थियो भन्ने सम्झना छ ? यसरी सोधेका प्रश्नका आधारमा तपाईं यस्ता समस्या (उदाहरणका लागि, अपरिचितबाट आक्रमण वा बलात्कार, बाली मर्नु, सडकको अवस्था खस्कनु, मानिस बेपत्ता हुनु) को शुरूआत कहिले भएको रहेछ, यसका सम्भावित कारण (उदाहरणका लागि, अघिल्लो घटना भएका समयमा यसो पनि भएको भनी मानिसले भन्न सक्छन्), त्यसका परिणाम जस्ता अन्य जानकारी (त्यसैले, हामी बसाइँ स¥यौं) थाहा पाउन सकिन्छ ।

(२) सबै स्रोतलाई एकै खालका प्रश्न सोध्ने ।

(३) सटिक प्रश्न सोध्नुहोस्, ठोस विवरण खोज्नुहोस् र स्रोतले दिएका उत्तर सही तरिकाले रेकर्ड गर्नुहोस् । यस्तो अन्तर्वार्तामा निश्चित उत्तर पाउनका लागि हो वा होइन भनी जवाफ दिन मिल्ने खालका प्रश्न उपयोगी हुन्छन् । स्वतन्त्र अभिव्यक्ति र सूक्ष्म जवाफ आउने खालका प्रश्नका साथै हो वा होइन भनी उत्तर दिने प्रश्न पनि सोध्नुपर्छ । यी सबै खालका उत्तरका आधारमा आफ्नो डेटाबेस तयार गर्न सकिन्छ ।