खोज पत्रकारिता यस्तो खालको पत्रकारिता हो जसमा रिपोर्टरले एउटा विषयमा गहन रूपले खोज गर्छ । यसरी तयार भएको स्टोरीले भ्रष्टाचार उदाङ्गो पार्छ, सरकार अथवा कर्पाेरेट हाउसहरूको नीतिको समीक्षा गर्छ अथवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक चलनप्रति मानिसको ध्यानाकर्षण गराउँछ । एउटा विषयमा खोज गर्न खोज पत्रकार अथवा खोज पत्रकारको समूहलाई धेरै महीना अथवा वर्ष लाग्न सक्छ । सामान्य खालको रिपोर्टिङ गर्दा रिपोर्टर सरकार, गैरसरकारी संस्था अथवा अन्य संस्थाहरूले दिएका जानकारीमा भर पर्छन् भने खोज पत्रकारले आफ्नानै सक्रियतामा सूचना खोज्छन् । खोज पत्रकारको लक्ष्य जानाजान लुकाएर राखिएका वा अन्जानमै लुक्न पुगेका जानकारी बाहिर ल्याउनु हो ।

खोज पत्रकारले सार्वजनिक सरोकारका विषयमा गहन खोज गर्नुपर्छ । सार्वजनिक सरोकार भन्नाले त्यस्ता विषयलाई जनाउँछ जसका बारेमा थाहा नपाउँदा आम मानिसलाई बेफाइदा पुग्छ अनि थाहा पाउँदा आम मानिसलाई फाइदा पुग्छ । कहिलेकाहीं, कुनै जानकारी बाहिर आउँदा एउटा समुदायलाई फाइदा र अर्काे समुदायलाई बेफाइदा हुन सक्छ । उदाहरणका लागि, असंगठित किसानले उत्पादन गरेको तरकारीको वास्तविक बजार मूल्य थाहा पाएको खण्डमा किसानले बिचौलियासँग बढी मूल्य माग्न सक्छन् । तरकारी बिचौलिया यस्तो जानकारी किसानसम्म नपुगोस् भन्ने चाहन्छन् । ‘राष्ट्रिय हित’ र ‘सार्वजनिक हित’ का बीचमा कहिलेकाहीं भिन्नता हुन सक्छ । सरकारले ‘राष्ट्रिय हित’ का नाममा गैरकानूनी, खतरनाक अथवा अनैतिक कामलाई सही ठह¥याउन सक्छ अथवा त्यस्ता विषयमा रिपोर्टिङ गर्न पत्रकारलाई हतोत्साहित पार्न सक्छ ।

खोज पत्रकारिता हतारमा गरिने पत्रकारिता होइन । खोज पत्रकारिता गर्नका लागि योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रिया अपनाउनुपर्छ, सत्यता र प्रमाणसम्बन्धी सर्वस्वीकृत मापदण्ड अपनाउनुपर्छ । खोजमूलक रिपोर्टिङका कामको नेतृत्व पत्रकार÷पत्रकारको टोलीले गर्नुपर्छ, अर्काको पहलमा थालिएको रिपोर्टिङ खोज पत्रकारिता हुँदैन । कुनै विषयमा प्रारम्भिक सूचना पाइसकेपछि पत्रकारले त्यस विषयमा आफ्ना मान्यता बनाउँछ, थप अनुसन्धानका लागि योजना बनाउँछ, त्यस विषयमा कस्ता प्रश्न सोध्नु सान्दर्भिक हुन्छ भन्ने कुरा तय गर्छ र आफ्नानो मान्यताका पक्ष र विपक्षका जानकारी खोज्न थाल्छ । खोज पत्रकारले आफैंले देखेका र खोजेका जानकारीको विश्लेषण गरेर प्रमाण जुटाउनुपर्छ । सामान्य खालका रिपोर्टिङ गर्ने पत्रकारले आफूले पाएका जानकारीलाई जसरी पुष्टि गर्छ खोज पत्रकार त्यतिमा सीमित हुनुहुँदैन । स्टोरीमा नयाँ जानकारी हुनुपर्छ अथवा पहिल्यै बाहिर आइसकेका जानकारीलाई पनि यस किसिमले प्रस्तुत गर्नुपर्छ जसबाट ती जानकारी कति सान्दर्भिक छन् भन्ने कुरा स्थापित होस् । कुनै एउटा स्रोतबाट अचम्म लाग्दा जानकारी पाउन सकिएला, अहिलेसम्म लुकाइएका जानकारी नयाँ दृष्टिकोण थाहा पाउन सकिएला तर उसबाट पाएका जानकारी अनुभव, कागजात र अन्य व्यक्तिबाट पुष्टि नभएसम्म र ती जानकारीले के अथ्र्याउँछन् भन्ने व्याख्या नगरेसम्म त्यो खोज पत्रकारिता हुँदैन ।

खोजमूलक रिपोर्टिङका लागि धेरै स्रोत, सामूहिक प्रयास र दिनैपिच्छे गरिने रिपोर्टिङका लागि भन्दा बढी समय चाहिन्छ । धेरै खोजमूलक स्टोरी पत्रकारहरूको टोलीले तयार गरेका हुन्छन् । तर समय, पैसा र स्टाफ अनि विशेष सीप कम भएका साना, स्थानीय र सामुदायिक सञ्चारमाध्यमका लागि खोज पत्रकारिता गर्न समस्या हुनसक्छ । खोज पत्रकारिता गर्नका लागि पत्रकारले अरूबाट अनुदान लिनुपर्ने हुनसक्छ । आफ्नानो सञ्चारमाध्यमभन्दा बाहिरका दक्ष मानिसको सहायता लिनुपर्ने हुनसक्छ ।

समूहमा मिलेर गरिने खोज पत्रकारिताका पक्ष र विपक्षमा कंगोका पत्रकार सेज–फिडेल गायालाका विचार:

“फरक फरक सीप भएका मानिसहरूको सानो समूहमा मिलेर काम गर्दा फलदायी हुन्छ । जस्तै, कोही फिल्डको अनुसन्धान गर्न, कोही अनुसन्धान र कागजातमा भेटिने जानकारी बटुल्न र कोही लेखनमा दक्ष होओस् । कुनै घटनाको समाचार झट्ट ब्रेक गर्नका लागि समूहमा काम गर्दा राम्रो हुनसक्छ तर हामीले काम गर्ने सबै सञ्चारमाध्यम स्वच्छ छन् भन्न सकिंदैन । उद्योगपति, व्यापारी अथवा नीतिनिर्माताले पत्रकारलाई धम्की अथवा पैसा दिएर आफ्ना पासोमा पार्न सक्छन् ।

धेरै अखबार विभिन्न स्वार्थका आधारमा चलेका हुन्छन् । त्यस्ता अखबार शुरू गर्न निश्चित स्वार्थ भएका व्यक्ति वा संस्थाले पैसा दिएको हुनसक्छ । यस्तो अवस्थामा सम्पादक मुख्य तारो बन्छन् । अथवा सम्पादकले नै खोज गर्न नदिन सक्छ । यस्तो वातावरण भएका सञ्चारमाध्यममा काम गर्ने युवा रिपोर्टरलाई खोजमूलक स्टोरी तयार गर्न कठिन हुन्छ ।”

Recommendation
Recommendation

Recommendation