गुप्तचरले उपयोग गर्ने सीपका सन्दर्भमा यस्तो प्रश्न सोधेको हो भने पत्रकारलाई गुप्तचर मान्नुपर्छ । सबै खोजमूलक स्टोरी प्रश्नबाट शुरू हुन्छन् । यसको जवाफ र समाजसँग यसको सान्दर्भिकता खोज्नका लागि पत्रकारले मान्यता बनाउन अनुसन्धान गर्छ । त्यसपछि उसले थप अनुसन्धान गर्छः यससँग सम्बन्धित कागजात अध्ययन गर्छ, मानिससँग कुराकानी गर्छ । कुराकानी गर्दा कहिलेकाहीं सोधपुछ गरेजस्तो पनि गर्नुपर्छ । यसरी पत्रकारले अत्यन्त धेरै जानकारी भेला गर्छ । यीमध्ये केही त एकदमै विस्तृत अथवा प्राविधिक खालका पनि हुनसक्छन् ।

केलाई प्रमाण मान्ने र आफूले पाएका जानकारीलाई प्रमाणका रूपमा पेश गर्न सकिन्छ कि सकिंदैन भन्ने विषयमा पत्रकारले सर्वस्वीकृत (अदालतले स्वीकार गर्ने) मान्यता अपनाउँछन् । मानहानि जस्ता कानूनले गर्दा पत्रकारले गर्ने अनुसन्धान र तथ्य रुजु गर्ने काम गुप्तचरले मुद्दा चलाउन पेश गर्ने खालका प्रमाण जुटाउन गर्ने काम भन्दा फरक हुनुहुँदैन ।

कहिलेकाहीं यस्तो प्रश्न सोध्नुपर्छः खोज पत्रकारले परिचय बदलेर अथवा माइक्रोफोन र क्यामरा लुकाएर, गुप्तचरले जसरी अनुसन्धान गर्न हुन्छ कि हुँदैन ? यसको जवाफ जटिल छ । खोज पत्रकार—केही सर्वश्रेष्ठ खोज पत्रकार मध्येका— ले कहिलेकाहीं यी विधि उपयोग गर्छन् । तर यहाँ के कुरामा ख्याल राख्नुपर्छ भने गुप्तचरले भेष बदलेर गर्ने काम र प्रहरीले अनुसन्धान गर्ने मामलामा नागरिकको अधिकारबारेमा सामान्यतया कानूनले निर्दिष्ट गरेको हुन्छ । पत्रकारले आचारसंहिता बमोजिम काम गर्छ । नागरिकको गोपनीयताको हक उल्लंघन गर्ने अधिकार पत्रकारले पाएको हुँदैन । त्यसैले, आचारसंहिता पालना गर्न र अरूले आफ्ना विरुद्ध मुद्दा हाल्ने अवस्था नआओस् भन्नका लागि पत्रकारले हरेक पटक यस्तो तरिका अपनाउनु भन्दा पहिले यसो गर्ने कि नगर्ने भन्ने विषयमा सतर्क भएर विचार गर्नुपर्छ । लुकाइएका क्यामरा र रेकर्डरबाट संकलन गरिएका जानकारी थप प्रमाण मात्र हुन् । यसरी जानकारी संकलन गरेपछि विश्लेषण गर्नुपर्दैन, जानकारी जाँच गर्नुपर्दैन, यस्ता सामग्रीको सान्दर्भिकता बताउनुपर्दैन र सार्थक स्टोरीको खाका तयार गर्नुपर्दैन भन्ने हुँदैन । आफूले स्टोरी गर्न लागेका विषयमा सार्वजनिक कागजातमा धेरै प्रमाण भेट्न सकिन्छ । यसका लागि कुन कागजातमा खोज्ने र कसरी भेला भन्ने कुरा चाहिं जान्नुपर्छ ।

खोज पत्रकार र गुप्तचरका काम धेरै दृष्टिले समान भए पनि उनीहरूका केही काम एकापसमा भिन्न हुन्छन् । कहिलेकाहीं पत्रकारले अनुसन्धान गर्दा दोषी प्रमाणित गर्नुपर्दैन, के भएको रहेछ भनेर जान्दा मात्रै हुन्छ । अपराध कसले गरेको हो भन्ने थाहा पाएपछि गुप्तचरको काम सकिन्छ । खोज पत्रकारले अरू थप जानकारी खोज्नुपर्छ । उसले सही तथ्य खोज्नुपर्छ र तिनलाई सही किसिमले प्रस्तुत गर्नुपर्छ । पत्रकारले आफूले तयार पारेको स्टोरीको महत्व बताइदिनुपर्छ । आफूले अनुसन्धान गरेका घटना, काम र प्रमाणका ढाँचाबारे बताइदिनुपर्छ । त्यसैले खोजमूलक स्टोरीमा कुनै अपराध फलानाले गरेको हो भनेर मात्रै पुग्दैन त्यसको सन्दर्भ र गाम्भीर्य समेत उल्लेख गर्नुपर्छ । आफ्ना काममा यति गहिराइमा पुग्दा मात्र खोज पत्रकार निष्पक्ष भएको ठानिन्छ ।

खोज पत्रकारितालाई ‘रिसाहा पत्रकारिता’ पनि भनिन्छ । खोजमूलक स्टोरी गर्दा पत्रकारले स्टोरीमा उल्लेख भएका सबै पक्षका बीच कृत्रिम सन्तुलन मिलाउन खोज्दैन । उसले आफूले लेख्न लागेको स्टोरीमा भएका तथ्य सही छन् भन्नेतिर ध्यान दिन्छ । खोज पत्रकारिता गर्दा ‘यो कुरा सही नहुन सक्छ’, ‘हाम्रो व्याख्या गलत हुन पनि सक्छ’ भन्न पाइँदैन । जति वेलासम्म यस्ता शंका लाग्छन् त्यति वेलासम्म स्टोरी गहिराइमा पुगेको, प्रकाशन गर्न लायक मानिंदैन । कुनै स्टोरीमा दुई पक्ष मात्रै हुँदैनन् । खोजमूलक स्टोरीमा सन्तुलन मिलाउनु भनेको यी विभिन्न पक्षका बारेमा व्याख्या गर्नु हो, के भयो भन्ने मात्र नबताएर किन भयो भन्ने पनि बताउनु हो । गुप्तचरले यसो गर्दैन । पत्रकारले चाहिं त्यसको पूर्ण सन्दर्भ प्रस्तुत गर्छ ।

अर्का किसिमले भन्दा, खोज पत्रकारले वैज्ञानिकले जसरी काम गर्छन् । स्टोरी गर्न थाल्दा आफूले सोचेका कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण नजुटेसम्म उनीहरू आफूले शुरूमा सोचेका कुरा गलत हुन पनि सक्छ भन्ने कुरा ख्याल गर्छन् । आफूले सोचेको भन्दा विपरीत कुरा प्रमाणित गर्ने प्रमाण भेटिए भने तिनलाई पत्रकारले बेवास्ता गर्दैनन् । आफूले शुरूमा सोचेभन्दा फरक निष्कर्ष निकाल्ने प्रमाण पाइएमा उनीहरू त्यसलाई स्वीकार्छन् । यसो गर्दा पत्रकारको काम वैज्ञानिकको कामसँग मिल्न आउँछ जहाँ अनुसन्धानकर्ताले एउटा मान्यता राख्छन् र त्यो सही हो कि होइन भनी जाँच गर्छन् ।

खोज पत्रकार भनेका व्यवस्थापक पनि हुन् । ठूला, लामो समय लाग्ने, गहन अनुसन्धान गर्दा खोज पत्रकारहरूले ठूलो टोली र विज्ञसँग मिलेर काम गर्नुपर्छ, योजना बनाएर सोही अनुसार काम गर्नुपर्छ । यसका लागि उनीहरूले समूहमा काम गर्ने सीप जान्नुपर्छ ।

Recommendation
Recommendation

Recommendation