जिज्ञासा

खोज पत्रकारिता प्रश्नबाट शुरू हुन्छ । समाचारमा उल्लेख भएको घटनाका बारेमा प्रश्न गर्न सकिन्छ । आफूले दिनैपिच्छे देखे सुनेका घटनाका बारेमा पनि प्रश्न गर्न सकिन्छ ।

अगुवाइ

सञ्चारमाध्यमसँग स्रोतसाधन सीमित हुन्छ, समय पनि कम हुन्छ । त्यसैले म फलानो विषयमा खोजमूलक रिपोर्ट तयार गर्छु भनेर सम्पादकलाई भन्दा उसले ‘ल, गर’ नभन्न सक्छ । आफूले प्रस्ताव गरेको विषयका बारेमा रिपोर्टरलाई त्यति जानकारी छैन र रिपोर्टर त्यस विषयमा प्रष्ट छैन भने त सम्पादकले स्वीकृति दिने कुरै हुँदैन । खोज पत्रकारले आफैं अगुवाइ गर्नुपर्छ, प्रारम्भिक अनुसन्धान गरी स्टोरी तयार गर्ने ठोस योजना आफैं तयार गर्नुपर्छ । यति गर्दा पनि सम्पादकले स्टोरी गर भनेन भने स्टोरी गर्नका लागि चाहिने बाहिरी स्रोत (खोज पत्रकारिता लेखनवृत्ति हुनसक्ला) खोज्नुपर्ने हुनसक्छ ।

युक्तिसंगत सोचाइ, संगठन र आत्मानुशासन

खोजमूलक रिपोर्ट तयार गर्न धेरै समय लाग्छ । यसो गर्दा मुद्दाको झमेला पनि आइलाग्न सक्छ । त्यसैले आफूले पाएका जानकारी सही हुन् कि होइनन् भनी राम्रोसँग जाँच गर्नुपर्छ । समयको सदुपयोग गर्नका लागि खोज पत्रकार होशियार योजना निर्माता पनि बन्नुपर्छ । तथ्य जाँच र पुनःजाँच गर्ने काम दृढतापूर्वक गर्नुपर्छ र स्टोरी राम्रोसँग तयार भएको छ भन्ने कुरा यकिन गर्नुपर्छ ।

लचकता

खोजी गर्दै जाँदा आफूले पहिले सोच्दै नसोचेका जानकारी पाउन पनि सकिन्छ । शुरूमा एक थोक होला भनेर खोज्न थाल्यो, पछि त्यो होइन रहेछ भन्ने हुनसक्छ र पहिले सोच्दै नसोचेका, पहिलेको भन्दा चाखलाग्दा कुरा भेटिन पनि सक्छन् । यस्तो अवस्थामा खोज पत्रकारले आफूले खोज गरिरहेको विषयमा पुनर्विचार गरी शुरूमा सोचेको भन्दा नयाँ ढंगले काम गर्नुपर्ने हुनसक्छ ।

अनुराग


खोज पत्रकार इभेल्यान ग्रोइनिंकका विचारमा अनुराग खोज पत्रकारमा हुने सबैभन्दा ठूलो गुण होः

“अधिकांश अवस्थामा खोज पत्रकारिता जस नपाइने काम हो, यसले कति धेरै समय र ऊर्जा खान्छ भने सम्पादकले यस्तो स्टोरी पर्खने धैर्य गुमाउन सक्छ । शक्तिशाली मानिसहरू खोज पत्रकारसँग रिसाउँछन् । राम्रो तलब र बढुवा चाहने, व्यवस्थापकीय पद र सोही अनुसारको तलबप्रति उत्कट चाहना भएको, आफ्नो देश अथवा आफ्ना ठाउँका भीआईपीले आफूलाई डिनर र पार्टीमा बोलाउन भनी आश गर्ने पत्रकारका लागि खोज पत्रकारिता काम नलाग्न सक्छ । चुनौतीको सामना गर्न मन पराउने, सत्य र न्यायप्रति अनुराग भएको, सार्थक स्टोरी तयार गरेर आफ्ना पाठक अथवा अडियन्सको सेवा गर्न चाहने, जतिसुकै समय र ऊर्जा खर्च गर्न अनि शक्तिशाली मानिसको आँखाको तारो बन्न पनि तयार रिपोर्टरले हो खोज पत्रकारिता गर्ने ।”


सामूहिक भावना र कुरा गर्ने सीप

खोज पत्रकारिताका विषयमा बनाइएका फिल्ममा खोज रिपोर्टर एक्लैले काम गरेको देखाइन्छ । कहिलेकाहीं निश्चित समयसम्म आफूले खोज गरिराखेका विषयमा अरूलाई बताउन नमिल्ने हुनसक्छ । तर राम्रो स्टोरी तयार गर्नका लागि सञ्चारमाध्यमका (बाहिरका समेत) धेरै मानिसले सामूहिक रूपमा काम गर्नुपर्छ । ‘स्पटलाइट’ को टोलीले तयार पारेको क्याथोलिक पुरोहितले गरेको बाल यौन शोषणसम्बन्धी स्टोरी यसको एउटा उदाहरण हो । खोजमूलक स्टोरी तयार गर्नका लागि विज्ञान, स्वास्थ्य, अर्थशास्त्र र समाजशास्त्र जस्ता विभिन्न क्षेत्रका विज्ञको सहायता लिनुपर्ने हुन्छ । खोज पत्रकार जतिसुकै जान्ने भए पनि सबै क्षेत्रको विज्ञ हुनसक्दैन । विभिन्न क्षेत्रका मानिससँगको राम्रो सम्पर्क र नेटवर्किङ पनि सामूहिक कामको एउटा पाटो हो । एकअर्कालाई आफ्ना कुरा बताउनु पनि सामूहिक कामको एउटा अंग हो । यसो गर्दा आफ्नो समूहका सबैले स्टोरी गर्नुको उद्देश्य र आफूले पालना गर्नुपर्ने मापदण्ड (सत्यतथ्य, इमान, गोपनीयता) बारे थाहा पाउँछन् ।

रिपोर्टिङ गर्ने राम्रो सीप

रिपोर्टिङ गर्ने राम्रो सीप सिक्न कलेजमा पत्रकारिता विषय पढेको हुनुपर्छ भन्ने छैन । स्रोत पहिचान गर्ने, अनुसन्धानका लागि योजना बनाउने, अन्तर्वार्ता लिने (आफूले पाएको जवाफ असत्य हुन पनि सक्छ), सही जानकारी राम्रोसँग प्रस्तुत गर्न सक्ने सीप लिनका लागि पर्याप्त तालिम र अनुभव भए पुग्छ । यस बाहेक, आफूले थाहा नपाएका विषयमा सल्लाह र सहयोग माग्न सक्ने क्षमता पनि हुनुपर्छ । आफूसँग त्यति धेरै अनुभव छैन भने अरूसँग मिलेर काम गरेका खण्डमा आफूले नचिताएको परिस्थिति आइलाग्दा समूहका अरूको सीप काम लाग्छ ।

चौतर्फी ज्ञान र अनुसन्धान गर्ने राम्रो सीप

आफूले कुन परिस्थितिमा खोज गर्दैछु भन्ने कुरा थाहा पाउँदा सान्दर्भिक तथ्य पत्ता लाग्छन् र कस्ता प्रश्न सोध्दा आफूले खोजेका जानकारी पाइन्छन् भन्ने थाहा हुन्छ । यसो भएमा स्टोरी गर्दै जाँदा बीचमै छाड्नुपर्ने अवस्था आउँदैन । खोज गर्दै जाँदा आफूले अहिलेसम्म थाहा नपाएको विषयमा जानकारी खोज्नुपर्ने भयो भने खोज पत्रकारले सबैभन्दा पहिले त्यस क्षेत्रको पृष्ठभूमि, चलन, शब्दावली, त्यस क्षेत्रका हर्ताकर्ता र त्यस क्षेत्रमा प्रचलित विषयबारेमा तुरुन्तै थाहा पाउनुपर्छ । विज्ञहरूसँग जानकारी लिन सक्ने गरी कुराकानी गर्ने, वेब सर्च इन्जिन चलाउने अथवा उपयोगी पुस्तक कहाँ छन् भनी पत्ता लगाउने र सर्सर्ती हेर्ने सीप पनि खोज पत्रकारिताका लागि उपयोगी हुन्छन् । खोज पत्रकारले समय पाउने बित्तिकै जे पनि पढ्नुपर्छ । कुनै पनि विषयका बारेमा अलिअलि थाहा पाइराख्दा जुनसुकै स्टोरी लेख्न काम लाग्छ ।

निष्पक्षता र आचारसंहिताको कठोर पालना

खोजमूलक स्टोरी गर्दा आफ्नो सुरक्षा, जागिर र ज्यान समेत खतरामा पर्न पनि सक्छ । स्टोरीमा कसैमाथि जथाभावी आरोप लगाइएको छ भने आरोपितको पनि सुरक्षा, जागिर र ज्यान खतरामा पर्न सक्छ । त्यसैले, खोज पत्रकारले कठोर र विवेकशील ढंगले तयार गरिएको व्यक्तिगत आचारसंहिता पालना गरी आफ्ना स्रोत र स्टोरीमा उल्लेख भएका मानिसलाई सम्मानजनक व्यवहार गर्नुपर्छ र सकेसम्म उनीहरूलाई हानि हुन दिनुहुँदैन । यस बाहेक, खोजमूलक स्टोरी तयार गर्ने समाचार कक्षले पनि आचारसंहिता पालन गरेको हुनुपर्छ र आचारसंहिताका विषयमा अलमल भएमा त्यस्ता विषयमा छलफल गरी टुंगोमा पुग्ने वातावरण मिलाउनुपर्छ । कहिलेकाहीं, खोज पत्रकारप्रति आम मानिसको विश्वास नै पत्रकारको सबैभन्दा ठूलो सुरक्षा कवच हुनसक्छ । आचारसंहिता विपरीत काम गरेमा यस्तो विश्वास गुम्छ ।

विवेक
आफूले खोज गर्दै गरेको विषयमा हल्ला गरेका भरमा राम्रो खोजमूलक स्टोरी तयार हुँदैन । जथाभावी बोल्नु भनेको आफ्नो खोज र त्यसमा संलग्न मानिसलाई जोखिममा पार्नु हो । यसरी हल्ला गर्दा आफ्ना प्रतिद्वन्द्वीले विषय थाहा पाएर आफूभन्दा पहिले स्टोरी तयार गर्न सक्छ अथवा स्टोरीका लागि जोसँग कुराकानी गर्नुपर्नेछ उसलाई भड्काइदिन सक्छ । आफूले गरिराखेको स्टोरीका बारेमा बढी हल्ला गर्नु आफ्नो स्टोरी आफैंले मार्नु हो ।

देशभक्ति

खोज पत्रकारलाई प्रायशः ‘देशद्रोही’ भनी निन्दा गर्ने गरिन्छ । तर, खोज पत्रकारले सार्वजनिक चासोका विषयमा ध्यान दिन्छन् । त्यस्ता विषयमा स्टोरी तयार गरेर समुदायलाई राम्रो बनाउन सहयोग गर्छन् ।


यस खण्डमा खोज पत्रकारिताको परिभाषा दिइयो र यसको महत्वबारेमा बताइयो । खोज पत्रकारले कुनै स्टोरी गर्न सम्पादकको अनुमति लिन सधैंभरि सजिलो हुँदैन भन्ने बारेमा पनि यस खण्डमा छलफल गरियो । सम्पादकको अनुमति पाइन्छ कि पाइँदैन भन्ने कुरा स्टोरी गर्दा कस्ता कुरा फेला पर्लान् भन्नेमा भर पर्छ । यसपछिको खण्डमा स्टोरीको विषय कसरी पत्ता लगाउने र हल्लाको पछि नलाग्ने अवस्था कसरी बनाउने भन्ने बारेमा उल्लेख छ ।

Recommendation
Recommendation

Recommendation