खोजमूलक, हार्ड न्यूज अथवा फिचर जस्तो स्टोरी भए पनि यी लेख्ने तीन खालका तरिका छन्ः

१.  समयक्रममा आधारित – यस्तो तरिकामा स्टोरी समयक्रम मिलाएर लेखिन्छ,
२.  वर्णन – विभिन्न समयको अवस्थाको वर्णन गरेर, आफूले खोज गर्दा जति वेला जे पाइयो त्यसको वर्णन गरेर ।
३.  प्रक्रिया – यस्तो तरिकामा स्टोरी आफूले खोज गरिरहेको विषय र तर्कमा आधारित हुन्छ ।

लेखनको शुरूमा आफूले संकलन गरेका सामग्रीलाई विभिन्न खण्डमा वर्गीकरण गर्नुपर्छः विषय, प्रभावित व्यक्ति, द्वन्द्व र आफूले पत्ता लगाएका कुरा । माथिका खण्डका शुरूमा लिड र अन्त्यमा निष्कर्ष थपिदिंदा सामान्य खालको, छोटो खोजमूलक स्टोरीका लागि चाहिने पूर्ण योजना तयार हुन्छ ।

खोजमूलक स्टोरीमा आफूले उठाएको विषय र तथ्यप्रति पाठकको ध्यान तान्नुपर्छ । यस्ता स्टोरीमा साहित्यिक सीप गौण हुन्छ । आफूले भेला गरेका सामग्रीलाई स्टोरीको ढाँचामा ढाल्ने विभिन्न तरिका छन् । खोजमूलक स्टोरी लेख्न सीप सिकाउनेहरूले विभिन्न अवधारणा र तरिका सिकाउँछन् । खोजमूलक स्टोरी हार्डन्यूजभन्दा लामो र जटिल हुन्छ । त्यसैले, यसलाई निश्चित आकार र खाकामा ढाल्दा स्टोरीमा दिइएका जटिल जानकारी बुझ्न पाठकलाई सजिलो हुन्छ ।

खोजमूलक स्टोरीका धेरै चल्तीमा रहेका तीनवटा खाका यस प्रकार छन्ः

(क) वाल स्ट्रिट जर्नलको तरिका जसमा निम्न प्रक्रिया अपनाइन्छः

१.  आफूले उठाउन लागेको केस र विषय उठाउन त्यससँग सम्बन्धित व्यक्ति वा अवस्थाको वर्णन ।
२.  शुरूआतमा उठाइएको विषयलाई विस्तारपूर्वक वर्णन । यसो गर्दा शुरूमा केस राखिसकेपछि त्यसलाई विस्तारमा बताउनुभन्दा पहिले ‘नट ग्राफ’ राख्ने । यसले शुरूमा राखेको केस र त्यसपछि विस्तारमा बताइने विषयलाई जोड्ने पुलको गर्छ ।
३.  आफूले शुरूमा उठाएको विषयतिर फर्कने जसले गर्दा अन्त्यमा मानवीय पक्ष देखाएर घतलाग्दोसँग स्टोरी अन्त्य गर्न सकिन्छ ।

(ख)अमेरिकी लेखक कोच क्यारोल रिचले तयार गरेको ‘मुख्य पाँच’ को तरिका जसमा निम्न पाँच खण्ड हुन्छन्ः 

१.  समाचार (के भयो अथवा के भइरहेको छ ?)
२.  सन्दर्भ (पृष्ठभूमि)
३.  विषयको दायरा (यो एउटा घटना मात्र हो कि, अथवा स्थानीय तहमा बारम्बार हुने कुरा हो कि राष्ट्रिय रूपमा असर पार्ने कुरा हो ?
४.  यसको बहाव (अवस्था कता जाँदैछ ?)
५.  असर (पाठकले यस विषयमा किन ध्यान दिनुपर्छ ?)

शब्द÷शब्दावली÷वाक्य लेख्न सक्ने क्षमता पत्रकारमा हुनुपर्छ । यस्तो क्षमता नभए यो एउटा स्टोरी नभएर एकपछि अर्काे गरी आउने पाँचवटा छोटा स्टोरी जस्तो देखिन्छ । वेबका लागि लामो स्टोरी लेख्नका लागि यो शैली अत्युत्तम हो । यो शैली अपनाउँदा स्टोरी विस्तारमा वर्णन गर्नुपर्दा त्यसलाई निश्चित खण्डमा बाँड्न मिल्छ जसले गर्दा स्टोरी पढ्न पाठकलाई सजिलो हुन्छ ।

(ग) पिरामिड

हार्डन्यूज लेख्दा ‘उल्टो पिरामिड’ शैली अपनाइन्छ (यसो गर्दा, सबैभन्दा मुख्य कुरा सबैभन्दा पहिले अनि त्यसपछि क्रमशः कम महत्वपूर्ण कुरा लेखिन्छ) । खोजमूलक स्टोरी लेख्दा उल्टो पिरामिड शैली अपनाइन्छ । यस्तो स्टोरी लेख्दा शुरूमा स्टोरीको सार लेखिसकेपछि आफूले पत्ता लगाएका कुरा लेख्नुपर्ने हुन्छ । यसका लागि निम्न तरिका अपनाउनुपर्छः

१.  शुरूमा स्टोरीको मुख्य विषयवस्तुको सारांश दिनुपर्छ ।
२.  स्टोरीमा यसपछि के आउँछ भन्ने कुराको संकेत दिनुपर्छ ।
३.  आफूले गरेको खोजका बारेमा एकपछि अर्काे गरी बताउने । यसो गर्दा पाठकको मनमा अब के हुन्छ भनी कौतुहल जगाइराख्नुपर्छ । स्टोरीलाई विस्तारै सबैभन्दा आश्चर्यलाग्दा अथवा अनौठा कुरातर्फ लानुपर्छ । कुनै वैज्ञानिक उपलब्धिसम्बन्धी लेख अथवा रहस्यमयी उपन्यास लेखेजस्तै गरी ।
४.  सबैभन्दा महत्वपूर्ण, नाटकीय जानकारी अन्त्यमा दिनुपर्छ ।

यी सबै तरिकामा कथानक लेख्नेका लागि तयार गरिएका टुलकिटबाट केही केही कुरा लिइएका छन् । हो, खोज पत्रकारले कथानक लेख्दैन तर खोजमूलक स्टोरी लेख्दा साहित्य लेखनका विधि पनि उपयोग गरिन्छ किनभने खोज पत्रकार पनि स्टोरी बताउने मान्छे हो । स्टोरी लेख्नुअघि पत्रकारले आफूलाई राम्रो तर अकाल्पनिक स्टोरी लेख्ने मान्छेका रूपमा लिनुपर्छ । व्याख्यान शैली भनिने समाचार लेखनको आधुनिक अवधारणाले यही कुरा मानेको छ ।


लेखक सुसन इटनका अनुसार:
“व्याख्यान शैलीमा लेख्ने लेखकले आफूले लेखेका सबै सामग्रीमा आफ्नो प्रभुत्व कायम राखेका हुन्छन् । उनीहरूले कुन जानकारी कुन ठाउँमा राख्नुपर्छ र पाठकको कौतुहल जगाइराख्न के गर्नुपर्छ भन्ने कुरामा ख्याल राखेका हुन्छन् । उनीहरूले प्राज्ञिक ढंगले तयार गरिएका सामग्री पढेका हुन्छन् । उनीहरूले आफ्ना स्टोरीलाई यसरी प्रस्तुत गरेका हुन्छन् जसबाट पाठकले त्यसमा अर्थ पाउँछन् । उनीहरूले आफूले भेला गरेका जानकारीलाई सिलसिलाबद्ध ढंगले राखेर स्टोरीलाई अर्थपूर्ण बनाएका हुन्छन् (…) यसो गर्दा उनीहरूले आफूलाई त्यो कुरा लेख्न आधिकारिक व्यक्ति हुँ भन्ने सन्देश दिन्छन्, उनीहरूले यो चाहिं नीति ठीक छ भनेर भन्नै पर्दैन (…) यसो गर्नु भनेको सम्पादकीय लेखेर यसो गर भन्नुभन्दा फरक कुरा हो (…) लेखकले आफूलाई अन्योलमा रुमल्लिएका पाठकलाई बाटो देखाउने मान्छे ठानेको हुन्छ ।”


माथिका दुवै भनाइ हेर्दा व्याख्यान शैली खोज पत्रकारका लागि आविष्कार गरेको हो कि जस्तो लाग्छ । तर यस्तो लागेका वेलामा एउटा कुरा ख्याल गर्नुपर्छ । अमेरिकन खोज पत्रकार ड्यानी शेच्टरले इराक युद्ध, आम संहारका हतियार विषयमा अमेरिकी मिडियाले गरेको कभरेज सम्बन्धमा बनाएको डकुमेन्ट्रीमा व्याख्यान शैलीको एउटा समस्या औंल्याएका छन् । उनले भनेका छन्ः निश्चित विषयका कथा भन्नमा जोड दिने व्याख्यान शैली अपनाउने हुँदा अमेरिकी समाचार संस्थाले अत्यन्त विवादास्पद ठूला विषय र बहसतिर ध्यान दिएनन् । तर यसले व्याख्यान शैलीको महत्व घटाउँदैन । यसले के कुरा चाहिं सम्झाउँछ भने लेखनका अन्य विधि जस्तै स्टोरी भन्ने विधि अपनाउँदा पनि उपयुक्त सन्दर्भमा सोचविचार गरेर र त्यसको सीप जानेर अपनाउनुपर्छ ।

व्याख्यान शैलीमा लेख्ने पत्रकारका लागि काम लाग्ने केही उपायः

व्यक्ति चित्र र दृश्य वर्णनः
वाल स्ट्रिट जर्नलको तरिका अपनाउने हो भने जानकारी खोज्ने वेलामै हरेक कुराको सूक्ष्म जानकारी लिनका लागि आँखालाई तयार राख्नुपर्छ । आफूलाई जानकारी दिने मुख्य मान्छे अथवा आफूले वर्णन गर्नुपर्ने प्रमुख दृश्यलाई राम्रोसँग वर्णन गर्नुपर्छ जसले गर्दा पाठकलाई आफैंले देखे झैं अनुभव होस् र विश्वास लागोस् । यसको अर्थ पाठकलाई झन्झट लाग्ने गरी हरेक कुराका झिनामसिना विवरण लेख्नुपर्छ भन्ने होइन (यसो गर्न ठाउँ पुग्दैन) तर आफ्नो स्टोरी राम्रो पार्न केही प्रभावशाली कुराको राम्रो वर्णन भने गर्नुपर्छ ।

संकेतः
खोजमूलक स्टोरी लेख्दा शुरुमै आफ्ना अडियन्सलाई स्टोरी कता जान्छ, यसले के विषय समेट्छ भन्ने कुराको संकेत दिनुपर्छ । पिरामिड शैली अपनाउँदा त यसो नगरी सुखै छैन । स्टोरीमा उल्लेख गरिने मुख्य कुरा नआउञ्जेल त्यस विषयमा पाठकको रुचि जगाइराख्न जति कुरा विस्तारमा भन्नु आवश्यक छ त्यति कुरा विस्तारमा बताउनुपर्छ ।

गति, खाका, शब्दः
लेखनमा गतिको पनि महत्व छ भन्ने कुरा सम्झनु जरूरी छ । पत्रकारले गरेका व्याख्यान, उसले रोजेका खाका र शब्दले स्टोरी कति छिटो वा ढिलो अगाडि बढ्छ भन्ने कुरा निर्धारण गर्छ । वाक्य र शब्द छोटा भएमा स्टोरीको गति धेरै हुन्छ । लामा वाक्यले गति घटाउँछन् । एउटा अनुच्छेदमा धेरै प्राविधिक जानकारी राखिएको छ भने यसले पाठकलाई ढिलो हुन बाध्य पार्छ । यस्ता वेलामा वाक्य छोटा भए पनि गति धिमा हुन्छ । अनावश्यक र अति धेरै पृष्ठभूमि जानकारी र सन्दर्भ दिइएको छ भने पाठकलाई पट्यार लाग्छ । उसले स्टोरी पढिनसक्दै बीचमै छाडिदिन्छ । पत्रकारले सधैं यी प्रश्न आफैंलाई सोध्नुपर्छः यो शब्द हटाउँदा स्टोरी फरक पर्छ कि पर्दैन ? यो नचाहिने शब्द हो कि ? स्टोरीमा नचाहिने खालको भाषा चलाउनुहुँदैन ।

लेखिसकेर स्टोरी पढ्दा त्यसको गति र प्रवाह आफैंलाई थाहा हुन्छ । यसो गर्दा स्टोरी कहाँनेर विस्तारोसँग बगेको छ, कहाँ पट्यारलाग्दो छ, कहाँ पढ्न कठिन छ भन्ने कुरा पनि थाहा पाइन्छ । कान मानिसको सबैभन्दा राम्रो सम्पादक हो । आफैंले सुन्ने गरी पढ्यो भने कहाँनेर लेखनले स्वाभाविक गति गुमाएको छ अथवा कहाँनेर शब्दाडम्बर भयो, कहाँनेर जटिल भयो, कहाँनेर अशुद्ध भयो अनि कहाँनेर पढाइ लर्बरियो भन्ने कुरा कानले बताइदिन्छ ।

स्टोरी लेख्दा बोले झैं गरेर लेख्नुपर्छ । यसो गर्दा पाठकलाई पत्रकारको बोली सुने झैं लाग्छ । तर बोल्दा ध्वनिको उतारचढाव हुन्छ, बोल्नेको हाउभाउ हुन्छ, बोल्ने मान्छेले श्रोतासँग आँखा जुधाउँछ । लेखाइमा यी कुरा हुँदैनन् । त्यसैले बोलीचालीको भाषालाई परिमार्जन गर्नुपर्छ । व्याकरण शुद्ध छ र पूर्णविराम र अर्धविराम सही ठाउँमा उपयोग गरिएको छ भने लेखाइमा पनि ध्वनिमा जस्तै उतारचढाव भेटिन्छ, कुन ठाउँमा जोड दिनुपर्छ भनी पाठकलाई थाहा हुन्छ । पाठकले सूक्ष्म अर्थ थाहा पाउँछन् । बोल्ने मानिसका हातले, आँखाले र अनुहारले श्रोतालाई जे दिन्छन् व्याकरण र विरामले पाठकलाई त्यही कुरा दिन्छन् ।