1.2.1. स्रोतको सञ्जाल तयार गर्ने

1.2.1. स्रोतको सञ्जाल तयार गर्ने


तपाईंले गरिरहेको अनुसन्धानले स्टोरीका लागि सबैभन्दा राम्रो स्रोत को हो भन्ने बारेमा जटिल र परस्पर विरोधी कुरा बताउन सक्छ । आफूलाई चाहिएका मानिस पत्ता नलागेसम्म ती मानिस को को होलान् भनेर सोचिरहनुहोस् । योजना बनाउँदा आफूलाई पृष्ठभूमि जानकारी र प्रमाण दिने दुवै थरीका मानिसको सूची बनाउनुपर्छ ।

कुन स्रोतले आफूले खोजेको कुन जानकारी दिन्छ भनी विचार गर्नुहोस् । परस्पर विरोधी जानकारी अथवा रहस्यमयी लाग्ने कुरा के के हुन् ती उल्लेख गर्नुहोस् । परस्पर विरोधी कुरा आउनु राम्रो हो किनभने यीमध्ये कुन सही हो भन्ने थाहा पाउँदा स्टोरी राम्रो हुन्छ । ‘यस्तो किन ?’ भनेर निरन्तर प्रश्न गर्नुहोस् । यसो गरेको खण्डमा स्टोरी एकदमै राम्रो हुनजान्छ । खोजमूलक स्टोरीका लागि जानकारी खोज्न समय र असाध्यै धेरै धैर्य चाहिन्छ । काम गर्दै जाँदा निराश हुन सकिन्छ । त्यसैले, आफूले गरिराखेका विषयमा एक टकसँग ध्यान दिनुपर्छ र पत्रकारिताको मूल मन्त्रबाट निर्देशित हुनुपर्छ । यो मूल मन्त्र होः पहरेदार भई समाजको सेवा गर्नु र आवाजविहीनहरूको आवाज बन्नु ।

तथ्यांक कहाँ कहाँ छन् भन्ने कुराको चित्र उतार्न र स्टोरीका लागि चाहिने जानकारी व्यवस्थित गर्नका लागि मार्क हन्टर र लुक्क सेन्जर्सले दिएका सल्लाह यस प्रकार छन्ः

  • >   कुनै घटनासम्बन्धी सबै कुरालाई समयक्रममा राख्नुहोस् (मिति, ठाउँ, त्यहाँ भएका मानिस, उनीहरूले के के भने र के के काम गरे भन्ने जानकारी खुलाएर), यी जानकारीलाई एउटै खालको फम्र्याटमा राख्नुहोस् जसले गर्दा चाहिएका वेलामा तपाईंले तुरुन्तै तथ्य पत्ता लगाउनुहुन्छ ।
  • आफ्ना सम्भावित स्रोतको सम्पर्क सूत्रको सूची बनाउनुहोस् (यस्तो जानकारी गोप्य राख्नुहोस्) ।
  • >  आफ्ना परियोजनाका बारेमा थाहा पाउन सक्ने मानिस र आफूले सम्पर्क गर्न बाँकी मानिसको विवरण तयार गर्नुहोस्, उनीहरूको सम्पर्क सूत्र लेख्नुहोस् ।
  • >  संलग्न विभिन्न मानिसका बीचको सम्पर्क देखाउने डायग्राम बनाउनुहोस् ।
  • मुख्य कागजातको सूची बनाउनुहोस् । यीमध्ये कुन कागजात तपाईंसँग छन् र कुन कागजात खोज्न बाँकी छन् लेख्नुहोस् ।
  • >  आफूले भेला गरेका कागजको अनुक्रमणिका बनाउनुहोस्, कम्प्युटरमा काम गर्नुभएको छ भने आफूले हेर्नुपर्ने सामग्रीको हाइपरटेक्स्ट लिंक राख्नुहोस् ।
  • >  राम्रोसँग प्रमाणित भएका तथ्यलाई हाइलाइट गर्नुहोस् ।
  • आफूसँग भएका अन्य जानकारी कुन कुन अवस्थामा छन् (सामान्य जानकारी, जाँच गर्न बाँकी, थप जानकारी लिन बाँकी आदि) भन्ने विवरण राख्नुहोस् ।
  • >   नयाँ आइडिया आएका खण्डमा तिनलाई टिप्नका लागि नोटबूक सधैंभरि साथमै राख्नुहोस् ।