2.2. विश्लेषण र पुनः परिभाषा गर्नुहोस्


तपाईंले पृष्ठभूमि जानकारी सर्सर्ती हेरिसक्नुभयो, केही एकदमै रोचक मानिससँग कुराकानी गरिसक्नुभयो । स्टोरीसँग सम्बन्धित फिल्डमा गएर त्यहाँको अवस्था हेरिसक्नुभयो । दुःखको कुरा, तपाईंको स्टोरीको मान्यता सही देखिएन । यस्ता वेलामा आफूले पाएका नयाँ जानकारीका आधारमा स्टोरीलाई नयाँ मोड दिन डराउनुहुँदैन । राम्रो खोज गर्नका लागि लचकता सबैभन्दा महत्वपूर्ण कुरा हो । स्थिति आफूले पहिले सोचेभन्दा फरक भएको जान्दाजान्दै पनि पुरानै मान्यतामा अडिग रहेर आफूले पाएका तथ्यलाई त्यही पुरानो मान्यतामा ठोकठाक पार्ने गर्नुहुँदैन ।

पृष्ठभूमि जानकारी लिइसकेपछि आफ्नो अनुसन्धानलाई गहिराइमा लैजानुपर्छ र आफ्नो स्टोरीसँग असम्बन्धित कुरा हटाउनुपर्छ । आफूले मिहिनेत गरेर भेला गरेका सामग्री हटाउनु पर्दा दुःख लाग्छ तर त्यसो नगरी हुँदैन । पुराना नोटलाई फाइलमा राख्नुहोस् किनभने पछि अर्काे स्टोरी गर्दा ती काम लाग्न सक्छन् । अर्थपूर्ण सरकारी टिप्पणी भेला गर्नुहोस् र सबैभन्दा रोचक स्रोत र सन्दर्भ खोज्न लाग्नुहोस् । यति वेलामा आफूले ठोस, खास प्रमाण खोज्नुपर्छ । यस्ता कुराले गर्दा अनुसन्धान गरिरहेको विषयका बारेमा तपाईंको ज्ञान गहिराइमा पुग्छ । तपाईंले पछि कानूनी झमेला बेहोर्नु पर्दैन । जे कुरा प्रमाणित गर्न सकिंदैन त्यसलाई छाडिदिनुहोस् । आफ्नो नोटमा टिपेका कुन कुन कुरा परस्पर विरोधी छन् भनी हेर्नुहोस् । तिनलाई मिलाउन सकिन्छ ? तपाईंका ‘एकपक्षीय’ स्रोतले यी विषयमा के भन्छन् ? उनीहरूका सबै भनाइ रेकर्डमै लिन कोशिश गर्नुहोस् । आफूले भेला गरेको जानकारी जाँच्नुहोस्, फेरि जाँच्नुहोस् र अझ एकपल्ट जाँच्नुहोस् ।

स्टोरीको काम अघि बढाउँदै जाँदा सम्पादकलाई बताउँदै जानुहोस् । यसो गर्दा तपाईंको स्टोरीका लागि छुट्याएको ठाउँ र पेज तलमाथि गर्नुपर्ने रहेछ भने सम्पादकलाई सजिलो हुन्छ । जति सक्दो चाँडो यसो गर्नुपर्छ । मानहानि र मुद्दा आइपर्न सक्छ भन्ने लागेमा सम्पादकलाई बताउनुपर्छ । तपाईं र पत्रिका दुवैलाई सुरक्षित राख्नका लागि सम्पादकले अन्तिम स्टोरी वकिललाई पठाएर त्यसमा उसको सल्लाह लिन खोज्न सक्छ ।