1.1. कुराकानीका लागि मानिस भेट्ने


स्टोरीको उद्देश्य अथवा परिस्थितिका आधारमा आफूले कुराकानी गर्न चाहेका, आफूले स्टोरी गरिराखेका विषयमा बताउन सक्ने मानिसलाई जहाँ भेट्यो त्यहीं (यसो गर्नुलाई असभ्य काम मानिन्छ) अथवा फोनमा कुराकानी गर्न पनि सकिन्छ । कुनै स्रोतले कुराकानी गर्न लगातार बाधा उत्पन्न गरिराख्यो भने उसलाई पिछा गरेर भेट्नुपर्ने हुनसक्छ । उसको अफिस, उसको कोठा अथवा ऊ कुन सार्वजनिक कार्यक्रममा जान्छ त्यहीं उसलाई ढुकेर बस्न सकिन्छ । यसो गर्दा आफैंलाई हानि हुन पनि सक्छ । त्यसैले उसलाई जालमा पारेजस्तो गर्नु भने हुँदैन । नरम भएर उसलाई आफ्नो परिचय दिनुपर्छ र आफूले उसँग कुराकानी गर्न चाहेको बताउनुपर्छ । उसले तपाईंलाई शंका ग¥यो भने उसले पत्याएका मानिसबाट भनसुन गराउनुपर्ने पनि हुन्छ । कुनै कम्पनी, संस्था, सरकारी वा अर्धसरकारी निकायका मानिससँग अन्तर्वार्ता लिनका लागि उनीहरूका प्रवक्तामार्फत औपचारिक बाटो लिनुपर्ने पनि हुनसक्छ । जे जस्तो अवस्थामा अन्तर्वार्ता लिनुपर्ने भए पनि आफू शिष्ट हुनुपर्छ ।

अन्तर्वार्ता लिन चाहेको व्यक्तिलाई भेट्नु वा फोन गर्नुभन्दा पहिले आफूले सोध्न चाहेका सबै मुख्य बुँदा छोटकरीमा बताउन अभ्यास गर्दा राम्रो हुन्छ । उसलाई आफू पत्रकार हुँ भनेर कति वेला बताउने भन्ने कुरा पनि यतिवेला सोच्नुपर्छ । कुन अवस्थामा आफूलाई पत्रकार नभई अरू नै कुनै पेशाको मान्छे भनी आफ्नो भेष लुकाउने (आफूलाई सेल्स एजेन्ट वा अरू कोही भएको बताउने) ? यसो गर्दा आफूले धारण गरेको छद्म पेशामा आफू कसरी विश्वसनीय ढंगले प्रस्तुत हुने ?