2.1. अन्तर्वार्ताका आधारभूत नियम


समयमा पुग्ने
समयमा पुग्नु भएन भने तपाईंले स्रोतलाई चिढ्याउनुहुन्छ, समय बर्बाद गर्नुहुन्छ, माफी माग्नका लागि समय खर्च गर्नुपर्छ र अन्तर्वार्ताको शुरूमै आफू असजिलो अवस्थामा पुग्नुहुन्छ । यसो हुँदा आफूले लिन खोजेको जानकारीमा ध्यान पुग्दैन ।

उपयुक्त खालका लुगा लगाउने
आजभोलि लुगासम्बन्धी नियम पहिले जस्तो कडा छैन तर पनि पहिलो भेटमै आफ्ना स्रोतलाई आफू नराम्रो देखाउनु हुँदैन । जुन सन्दर्भमा अन्तर्वार्ता लिन लागिएको हो त्यससँग मिल्दो कपडा लगाउनुहोस् । उसलाई आदर गर्नुहोस् र उनको जीवन शैली अथवा विचारका बारेमा आफू तटस्थ छु भन्ने सन्देश दिनुहोस् ।

कहाँ बस्ने हो ठाउँ छान्नुहोस्
यसो गर्नलाई निहँु चाहियो भने उपकरणको थाप्लोमा दोष थोपर्नुहोस् (उदाहरणका लागि, यहाँ बसें भने साउन्ड राम्रोसँग रेकर्ड हुन्छ जस्ता कुरा बताउने) । अन्तर्वार्ता लिन लागिएका मानिससँग आँखा जुधाएर हेर्न सकिने हुनुपर्छ । तर आमनेसामने भएर बस्दा झगडा गर्न बसेजस्तो देखिन्छ । उसको अगाडि तर सीधै अगाडि भन्दा अलिकति दायाँबायाँ बस्नुहोस् । तपाईं र स्रोतका बीचमा एकअर्कालाई छेक्ने वस्तु (किताबको चाङ, खुला राखिएको ल्यापटपको माथिल्लो भाग) नहोस् । नरम सोफा आराम गर्नका लागि त सजिलो हुन्छ तर लेख्नका लागि अप्ठ्यारो हुन्छ ।

उपयुक्त किसिमले उसको अनुहारमा हेर्ने
आफूले कुरा गरिरहेका मानिसको अनुहारको भाव हेर्न पाउँदा मात्रै उसँग राम्ररी कुराकानी गर्न सकिन्छ । नोट टिप्दै गरेका वेलामा यसो गर्न कठिन हुनसक्छ तर नोट टिप्दा पनि वेला–वेलामा उसको मुखमा हेर्नुपर्छ । प्रश्न सोध्दा त सधैंभरि । नोटबूकमा हेरेर प्रश्न ग¥यो भने स्रोतले तपाईंलाई सिकारु, आत्मविश्वास नभएको अथवा स्रोतले भनेका कुरामा ध्यान नदिने मान्छे भनी ठान्न सक्छ । यो अभद्रताको लक्षण हो ।

हाउभाउमा ध्यान दिने
स्रोतको र आफ्नो शरीरको हाउभाउमा ध्यान दिनुपर्छ । उसको हाउभाउबाट उसले आत्मरक्षा गरेको जस्तो देखियो भने उसलाई कतिसम्म अप्ठ्यारा प्रश्न सोध्ने भन्ने संकेत मिल्छ । स्रोतले कति वेलामा चोट लागेको, अप्ठ्याराबाट मुक्ति पाएको जस्तो हाउभाउ गर्छ, कति वेला हाँस्छ, कतिवेला रिसाउँछ र कतिवेला दिक्क लागेजस्तो गर्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।

अन द रेकर्ड वा अफ द रेकर्ड
‘अन द रेकर्ड’ शर्तमा कुराकानी गरिएको छ भने स्रोतले दिएका सबै जानकारी उसले भनेको भनेर उपयोग गर्न पाइन्छ । ‘अफ द रेकर्ड’ भनेर कुराकानी गरिएको छ भने स्रोतले दिएका कुनै पनि जानकारी उपयोग गर्न मिल्दैन । ‘कुरा बुझ्न मात्र’ भनेर गरिएको कुराकानीमा स्रोतले दिएका जानकारी उपयोग गर्न पाइँदैन । यसरी कुराकानी गर्नुको उद्देश्य पत्रकारलाई आफूले स्टोरी गरिराखेका विषयमा कुरा बुझ्न सजिलो बनाउनु हो । अन द रेकर्ड अनि अफ द रेकर्डका नियम कानूनी रूपले बाध्यकारी छैनन् तर ती नियम पालना गर्नु पत्रकार र स्रोतको धर्म हो ।

कुराकानी गर्नुअघि नै स्रोतसँग कुराकानी अन द रेकर्ड गर्ने हो कि अफ द रेकर्ड भनी निधो गर्नुपर्छ । यसका लागि कति जति समय लाग्छ त्यो पनि बताउनुपर्छ । अन्तर्वार्ता अनौपचारिक छ भने कुरा थाल्नुअघि कुराकानी रेकर्ड गर्न अथवा नोट गर्न अनुमति लिनुपर्छ । अन्तर्वार्ता औपचारिक छ भने आफू चाँडै तयार भइसक्नुपर्छ । नोट गर्दा अथवा रेकर्ड गर्दा केही स्रोत डराउन सक्छन् । रेकर्ड गर्ने साधन नलुकाउनुहोस् तर लेख्दा अथवा रेकर्ड गर्दा अनुचित हस्तक्षेप गरेजस्तो नदेखियोस् । रेकर्ड गर्दा अथवा नोट टिप्दा स्रोत हडबडाए भने ‘यसो गर्दा तपाईंको जवाफमा यताउता नहोस् भनेर यसो गरेको’ भनी बताइदिनुहोस् ।

नोट सधैंभरि टिप्नुपर्छ
नोट टिप्दा तपाईं आफ्नो विषयमा केन्द्रित हुनुहुन्छ । यसो गर्दा स्रोतका हाउभाउ, वरपरको वातावरण र भनाइका तरिकाबारे टिपोट गर्न सकिन्छ जुन कुरा रेकर्डरले नगर्न सक्छ । रेकर्डिङ केही गरी खराब भयो भने पनि यसले काम चलाउन सकिन्छ । टिपोट गर्दा सही ढंगले टिपोट गर्नुहोस् । आफूले गरेका टिपोटमध्ये कुन स्रोतले भनेका कुरा हुन् र कुन आफूले अवलोकन र विश्लेषण गरेका कुरा हुन् भन्ने पछि सजिलैसँग छुट्टिन सक्ने हुनुपर्छ ।

तटस्थ र खुला प्रश्न सोध्नुहोस्
मनोवैज्ञानिकहरूको सल्लाह मान्नुहोस् । यस्तो प्रश्न नसोध्नुहोस्ः ‘यो शक्तिको निर्लज्ज दुरुपयोग होइन र ?’ यसका सट्टामा यस्तो प्रश्न सोध्नुहोस्ः ‘यसरी शक्तिको उपयोग गर्दा तपाईंलाई कस्तो लाग्यो ?’ तपाईंलाई स्रोतले के नियतले त्यो काम गरेको हो भन्ने जान्नुपर्ने छ तर ‘किन ?’ भनेर सोध्दा आरोप लगाएजस्तो अथवा शंका गरेजस्तो देखिन्छ । यस्तो वेलामा घुमाएर प्रश्न गर्नुपर्छ । ‘प्रेसमा आएका कुराबाट तपाईं किन रिसाउनुभयो ?’ भनी सोध्नुको सट्टामा यसरी सोध्न सकिन्छः ‘प्रेसमा आएका कुराले मलाई रिस उठ्यो भनेर तपाईंले भन्नुभएको छ । यसबारे अलि बढी कुरा बताइदिनु न ।’

चूप लाग्नु नराम्रो होइन
आफ्ना प्रश्नको उत्तर दिंदा स्रोत बीच बीचमा केही बेर चूप लाग्यो भने तपाईं नबोल्नुहोस् । उसलाई जवाफ सोच्न समय चाहिन्छ भने दिनुहोस् । भावावेशबाट सामान्य अवस्थामा फर्कन केही समय लाग्छ भने पर्खनुस् । त्यसपछि, ‘अब अर्काे प्रश्न सोधौं ?’ भन्नुहोस् ।

उसका कुरामा रुचि दिनुस्, रुचि दिएजस्तो देखाउनुस्
अन्तवार्ता गर्दा स्रोतले भनेका कुरा निरन्तर सुन्नुपर्छ, तिनलाई नोटमा टिपोट गर्नुपर्छ र त्यसका आधारमा थप प्रश्न सोध्नुपर्छ । यस्ता वेलामा आफूलाई यी प्रश्न सोध्नुहोस्ः मैले चाहेको जवाफ यही हो ? यो कुरा मैले बुझें ? यसलाई म कसरी उपयोग गर्छु ? दोहो¥याएर अन्तर्वार्ता लिन गाह्रो हुन्छ । स्रोतले आफूले चाहेजस्तो कुरा बताएन भने नआत्तिनुहोस्, अन्तर्वार्ता नटुंग्याउनुहोस् । अन्तर्वार्ता जारी राख्नुहोस् । उसले भनेका नयाँ दृष्टिकोणका आधारमा थप प्रश्न सोध्नुहोस् । आफूले पहिले सोचेको स्टोरीमा स्रोतलाई फिट गर्न नखोज्नुहोस् । यस्तै नयाँ कुरा थाहा पाउँदा अन्त्यमा स्टोरीमा राम्रो मोड आउँछ । आएन भने आफ्नो शुरूको मान्यतामा फर्कन सकिहालिन्छ । अन्तर्वार्ता आफूले चाहेजस्तो भएन र स्रोतले अभद्र व्यवहार ग¥यो भने पनि स्रोतप्रति आक्रामक नहुनुस् ।

समयको कदर गर्नुहोस्
अन्तर्वार्ता लिंदा वेला वेलामा घडी हेर्नुहोस् । त्यसै अनुसार प्रश्नको गति निर्धारण गर्नुहोस् । निर्धारित समयमा कुराकानी नसकिएला जस्तो लाग्यो भने समय थप्न सकिएला भनी सोध्नुहोस् ।
अन्तर्वार्ताको अन्त्यमा स्रोतलाई स्टोरी कहिलेसम्ममा प्रकाशित होला भनेर बताइदिनुस् । तर छापिनुभन्दा पहिले तपाईंलाई देखाउँला भन्ने जस्ता असम्भव वाचा नगर्नुहोस् ।

स्टोरी जस्तो छ त्यस्तै लेख्नुहोस्
स्रोतले दिएका सामग्री प्रयोग गर्ने क्रममा राम्रा पत्रकार इमानदार हुन्छन् । अन्तर्वार्तामा स्रोतले भन्दै नभनेका कुरा भन्यो भनेर लेख्न पाइँदैन । अन्तर्वार्ता लिइसकेपछि प्रश्न अथवा जवाफको मर्म बदल्न पनि पाइँदैन । स्रोतले एउटा सन्दर्भमा भनेका कुरालाई अर्काे सन्दर्भमा भन्यो भनेर राख्न पनि पाइँदैन । अन्तर्वार्ता जुन क्रममा लिइएको छ त्यसभन्दा फरक क्रममा राख्ने वेलामा गल्ती नहोस् भनेर विशेष ध्यान दिनुपर्छ । भद्दा किसिमको तुलना गरेर सत्यलाई सजिलैसँग बंग्याउन सकिन्छ । आफ्नो स्टोरी जस्ताको तस्तै बताउनुस् र स्टोरीको प्रतिक्रियास्वरुप कसैलाई केही भन्न लागेमा भन्न दिनुहोस् । अडियन्स बुद्धिमान हुन्छन्, सत्य के हो भन्ने कुरा उनीहरूले थाहा पाइहाल्छन् ।