1. डेटालाई कसरी सुरक्षित राख्ने ?

1. डेटालाई कसरी सुरक्षित राख्ने ?


अनुसन्धान योजना बनाइसकेपछि र आफूलाई काम लाग्ने स्रोत पत्ता लगाइसकेपछि खोजका काम सकेसम्म चाँडै थालौं भन्ने लाग्छ । तर अनुसन्धान थाल्नुअघि अर्काे एउटा कदमबारेमा ध्यान दिनुपर्छ । त्यो होः डेटाको सुरक्षा । विवादास्पद विषयमा खोजमूलक स्टोरी गर्दा तपाईंको स्टोरीबाट जसलाई हानि पुग्छ ऊ तपाईंसँग रिसाउन सक्छ । उसले तपाईंको अनुसन्धानलाई तोडमोड गर्न अथवा अनुसन्धानका गतिविधिको निगरानी गर्न सक्छ । यस्ता वेलामा निम्न प्रश्न आफैंलाई सोध्नुपर्छः तपाईंले गरेको अनुसन्धान प्रकाशित हुन नदिन कसले खोज्ला ? यसो गर्नका लागि उनीहरूसँग के कस्ता उपाय र साधन छन् ? के कस्ता उपाय र साधन उनीहरूसँग छैनन् ? तपाईंको सूचनाको प्रमुख स्रोत मानव हो कि डिजिटल ? आफ्ना कामको सुरक्षाका लागि तपाईं कुन तरिका उपयोग गर्नुहुन्छ ?

तपाईंको स्रोतले पनि तपाईंले जस्तै सुरक्षाका उपाय अवलम्बन गर्नुपर्छ । सुरक्षाका उपाय बारेमा उनीहरू पनि सचेत छन् भन्ने कुरा यकिन गर्नुहोस् । सबै उपाय अपनाउँदा पनि शतप्रतिशत सुरक्षा नहुन सक्छ । हामी आफ्ना विरोधीलाई आफ्ना कम्प्युटर अथवा जानकारीका भण्डारसम्म आइपुग्ने कामलाई कठिन, खर्चिलो र लामो बनाउन मात्र सक्छौं । पूर्ण रूपमा रोक्न सक्दैनौं ।

यहाँ तपाईंका उपकरणको सुरक्षाका लागि अपनाउनुपर्ने रणनीति बारेमा चर्चा गरिएको छ । तपाईंका लागि उपयोगी एप्स र सफ्टवेयरका बारेमा बताइएको छ । यहाँ सिफारिश गरिएका कुनै पनि सफ्टवेयर इन्स्टल गर्नुभन्दा पहिले तिनका सबैभन्दा पछिल्ला भर्सन खोज्नुहोस् किनभने इन्टरनेटमा सधैंभरि नयाँ कुरा भइरहेका हुन्छन् । धेरै लोभ नगर्नुहोस् । बजारमा सफ्टवेयरका निःशुल्क र सशुल्क भर्सन पाइन्छन् । आफ्ना लागि कुन प्रोग्राम उपयुक्त हुन्छ भन्ने कुरामा ख्याल गरेर निःशुल्क भर्सन इन्स्टल गर्ने कि सशुल्क भर्सन भनी निधो गर्नुपर्छ । ओपन सोर्सका सफ्टवेयरमा पछि आईटी विज्ञले सुरक्षासम्बन्धी थप कोड राख्न मिल्छ कि मिल्दैन भनेर हेर्नुहोस् । यस्ता सफ्टवेयरले सम्भावित सुरक्षा खतराबारेमा प्राइभेट सफ्टवेयरले भन्दा चाँडो जानकारी दिन्छन् । प्राइभेट सफ्टवेयरले कोड देखाउँदैन जसको अर्थ हो सुरक्षा खतराबारेमा यसका मालिकलाई मात्रै थाहा हुन्छ ।